ममता झा

महिला, ५३ बर्ष
९२२ मत
उम्मेदवारी : मेयर

ममता झा, नेपाली राजनीतिमा परिचित नाम हो । राजाको प्रत्यक्ष शासनकालदेखि नै राजनीतिमा होमिएपछि झा केही समय गुमनाम भइन् । ३० वैशाखमा हुनगइरहेको स्थानीय तहको निर्वाचनमा नेपालकै पहिलो टाउन प्लानिङ शहर राजविराजको मेयर पदमा प्रत्यासी बनेपछि उनको चर्चा पुनः चुलिन थालेको छ ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट उम्मेदवार बनेकी झा आफूले चुनाव जित्नेमा विश्वस्त छिन् । ‘जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको आफ्नै पृष्ठभूमि छ । मेरो पनि पुस्तैनी पृष्ठभूमि छ’ उनी भन्छिन्, ‘मैले जनताको केही नलिएर राजनीति गरेको सबैलाई थाहा छ । जनताको खाने, भ्रष्टाचारी गर्ने काम कहिल्यै गरेको छैनौं । यो नै मेरो जितको आधार हो ।’

राजविराजमा वृद्धदेखि बालबालिकासम्म सबैले चिनेको जिकिर गर्दै उनी भन्छिन्, ‘सबैले मलाई ममता दिदी नै भन्ने गरेका छन् । मैले जितेपछि सबै समस्याको समाधान हुन्छ भन्ने विश्वास आम जनतामा छ ।’
विशेषतः सबै महिलाले आफूलाई मत दिने उनको विश्वास छ । ‘म घरदैलोमा जाँदा महिलाहरूले देखाउनुभएको उत्साहले मलाई हौसला प्रदान गरेको छ ।’

शिक्षा र स्वास्थ्यको सुधार पहिलो प्राथमिकता

मुलुककै पुरानो नगरपालिका भए पनि राजविराजको शिक्षा, स्वास्थ्य र भौतिक विकास एकदमै पछिपरेको झा बताउँछिन् । ‘सरकारीसँगै निजी विद्यालयको पनि शिक्षा गुणस्तर धेरै तल छ । अलि ठूलो स्वास्थ्य समस्या परे यहाँ उपचार हुँदैन’ उनी भन्छिन्, ‘म विजयी हुनासाथ यी समस्याको समाधान गर्छु ।’

खेलकुदको राम्रो विकास नहुँदा यहाँका युवाहरू लागूऔषधमा फस्ने गरेको उनको बुझाइ छ । ‘खेलकुदको व्यवस्था नियमित गर्दा उनीहरू स्वस्थ रहँदै लागूऔषधबाट टाढा रहन सक्छन्’ उनी भन्छिन्, ‘उनीहरू गुट्खा, रक्सी खान्छन् भन्नलाई सजिलो छ । तर, त्यो नगरोस् भन्नेतर्फ कसैले ध्यान दिएको छैन ।’

नगरपालिकालाई सफा गर्न फोहोरबाट आम्दानी गर्ने भिजनसहित अगाडि बढ्ने उनको योजना छ । ‘फोहोरलाई रिसाइक्लिन गरेर करोडौंको आम्दानी गर्न सकिन्छ । यो भिजन मसँग छ’, उनी भन्छिन् ।

विकल्प बन्ने रहर

२०५२ मा सम्पन्न आम निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ मा तत्कालीन सद्भावना पार्टीबाट उम्मेदवार बनेकी उनी नेपाली कांग्रेसका तत्कालीन उम्मेदवार जयप्रकाश गुप्तासँग पराजित भइन् ।

उनी राजाको प्रत्यक्ष शासनको बेला संसदीय राजनीतिमा टिक्न सकिनन् र जिल्ला परिचालन समितिकी संयोजक बनिन् । गणतन्त्रको स्थापनासँगै उनी तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेर साझा प्रकाशनकी अध्यक्षको जिम्मेवारीमा पुगिन् ।

यसबीचमा उनी राजनीतिमा उल्लेख्य सक्रिय बनिनन् । पटकपटक पार्टी परिवर्तन गरेको बारे उनको आफ्नै बुझाइ छ । ‘रोटी पकाउने बेला नपाकेसम्म वल्टाईपल्टाई हेर्नुपर्छ’ उनी भन्छिन्, ‘कतै काँचो रहेमा रोटी पूर्ण रूपमा पाक्दैन । त्यसैगरी एउटा सचेत व्यक्तिले तबसम्म पार्टी परिवर्तन गर्नुपर्छ जबसम्म उसले चाहेको नेता र पार्टी पाउँदैन ।’

कुन नेता र पार्टी कस्तो भन्ने कुरा संगत नगरी थाहा नहुने उनको स्पष्टोक्ति छ । पछिल्लो समय डा. सिके राउतको भनाइबाट आफू प्रेरित भएको बताउँदै उनी भन्छिन्, ‘अरू नेताहरू टायरको चप्पल लगाएर राजनीतिमा आए, तर डाक्टरसाप सबै सुखलाई छाडेर राजनीतिमा आउनुभएकाले विश्वास लागेर यही पार्टीबाट नयाँ राजनीतिमा लागें ।’

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]