मो इर्शाद अन्‍सारी

पुरुष, ४८ बर्ष
४,५७६ मत
उम्मेदवारी : मेयर

राजविराज नगरपालिकाका लागि नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार इर्साद अन्सारी स्थानीयका लागि चिरपरिचित नाम हो ।

४७ वर्षीय अन्सारीले विद्यालयमा अध्ययनरत रहँदा २०४६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका हुन् । २०५१ सालमा महेन्द्र विन्देश्वरी क्याम्पस राजविराज इकाईका नेविसंघ सभापति बन्न सफल भए ।

२०६१÷६२ को जनआन्दोलनमा राजविराजमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनको छवि आन्दोलनकारी नेताको रूपमा बनेको छ । २०६३ सालमा उनी नेविसंघको महामन्त्री बनेपछि पार्टीको मूल राजनीतिमा होमिए ।

कांग्रेस पार्टीको ३५ वर्षको राजनीतिमा उनी स्वच्छ छविका इमानदार र सिद्धान्तवादी युवा नेताको रूपमा चिनिन्छन् ।राजविराज नगरपालिकामा अहिलेको युग अनुसार शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा काम हुन नसकेकोले यी क्षेत्रमा नतिजामुखी काम गर्ने उनको प्रतिबद्धता छ ।

‘लोकतन्त्रपछि पनि यहाँका जनताले विकासको अनुभूति गर्न सकेका छैनन्, मलाई जनताले जिताए भने उनीहरूले अनुभूति गर्न सक्ने गरी काम गर्छु’ अन्सारीले भने ।

जीवनको ३५ वर्ष निष्ठाको राजनीति गरेकोले राजविराज नगरवासीले आफूलाई विजयी गराउने उनको विश्वास छ । ‘म जनताको सेवक भएर काम गर्छु, शासक भएर होइन’ उनी भन्छन्, ‘मैले जीवनमा स्वच्छ राजनीति गरेको छु । अब पनि जनसेवामा समर्पित रहनेछु ।’

राजविराज–४ का स्थायी बासिन्दा इर्साद जाति र धर्मभन्दा माथि उठेर निष्ठाको राजनीति गर्नुपर्नेमा जोड दिन्छन् । यस पटकको पालिका निर्वाचनमा प्रतिस्पर्धामा देखिएका उम्मेदवारहरू कुनै न कुनै पेशा–व्यवसायमा संलग्न रहेको र आफू विशुद्ध राजनीतिकर्मी भएकोले जनताले आफूलाई मत दिने उनको विश्वास छ ।

‘मेयर जस्तो राजनीतिक पदमा विशुद्ध राजनीति गर्ने व्यक्ति पुगे मात्रै उसले जनताको लागि परिवर्तन ल्याउन सक्छन्’ उनी भन्छन्, ‘त्यसैले जनताले मलाई मत दिएर विजयी बनाउँछन् भन्नेमा दुईमत छैन ।’

 

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]