भिमराज यादव

पुरुष, ५६ बर्ष
९,६२४ मत विजयी
उम्मेदवारी : मेयर

 

२०७४ सालको निर्वाचनमा १५ मतको झिनो अन्तरले राजविराज नगरपालिकाको मेयरमा पराजित भएका भीमराज यादव यसपटक पुनः उम्मेदवार बनेका छन् ।

गत चुनावमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट चुनाव लडेका उनी यसपटक जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार बनेका छन् ।

५४ वर्षका भीमराज सानै उमेरदेखि राजनीतिमा क्रियाशील भए । सद्भावना पार्टीबाट राजनीतिमा लागेका उनी २३ वर्षमै जिल्ला विकास समितिका सदस्य भएका थिए ।

लामो समयसम्म सद्भावनामै रहेर राजनीति गरेका उनी निर्माण व्यवसायी पनि हुन् । २०७४ सालको निर्वाचनअघि तत्कालीन संघीय समाजवादी पार्टीमा प्रवेश गरेका भीमराज जसपा बन्दासम्म यही पार्टीमा छन् ।

मुलुकको पुरानो शहरमध्ये एक राजविराजको विकास गर्नका लागि आफूले पुनः उम्मेदवारी दिएको उनको तर्क छ । ‘यो मुलुककै पहिलो टाउन प्लानिङ नगरपालिका हो, तर दिन प्रतिदिन खस्किंदै गएको छ’ उनी भन्छन्, ‘यहाँको समग्र विकासका लागि मसँग भिजन र मिसन दुवै छ ।’

यहाँ सबैभन्दा ठूलो समस्या शिक्षा, स्वास्थ्य र कृषिमा देखापरेको उनको निष्कर्ष छ । ‘सरकारी विद्यालयको अवस्था जर्जर छ, भ्रष्टाचार मात्रै भइरहेको छ’ उनी भन्छन्, ‘सबैभन्दा पहिला यसलाई सुधार्छु ।’

नगरपालिकामा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई मेडिकल शिक्षा निःशुल्क पढाउने, निजी विद्यालयको स्तर अझ उकास्ने कार्यक्रम ल्याउने उनको योजना छ ।

प्रत्येक वर्ष कृषकले मलको अभाव सामना गर्नु परिरहेको देखेका उनले किसानका लागि ठूलै लगानी गरेर गोदाममै मल राखेर आपूर्ति गर्ने बताउँछन् । त्यस्तै, बिटोरी जग्गावालाहरूको समस्या समाधानका लागि पहल गर्ने आश्वासन पनि उनले मतदातालाई दिंदै आएका छन् ।

२०७४ को निर्वाचनमा झिनो मतान्तर अर्थात् १५ मतले पराजित उनी यसपटक जनताले जिताउनेमा ढुक्क देखिन्छन् ।

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]