महेन्द्रप्रसाद भण्डारी

पुरुष, ५३ बर्ष
४,२६१ मत
उम्मेदवारी : मेयर
धुर्कोट गाउँपालिका, लुम्बिनी प्रदेश

नेपाली कांग्रेसबाट धुर्कोट गाउँपालिका अध्यक्षका प्रत्यासी महेन्द्र भण्डारी पार्टीमा महाधिवेशन प्रतिनिधिको जिम्मेवारीमा छन् । २५ असार २०२५ मा जन्मेका उनी धुर्कोट–५ का बासिन्दा हुन् ।

२०३६ सालबाट नेपाल विद्यार्थी संघको राजनीति थालेका उनी नेविसंघ जिल्ला सदस्य, स्ववियू सभापति हुँदै नेविसंघ केन्द्रीय उपाध्यक्ष बने । उनले अध्यक्ष निर्वाचित भए गाउँपालिकामा न्याय, सुशासन र विकासको अनुभूति दिलाउने बताएका छन् ।

सुविधा र अवसर खोज्दै शहर पसेकाहरूलाई गाउँमै अवसर सिर्जना गर्ने भण्डारीको योजना छ । ढिलासुस्ती, भ्रष्टाचार अन्त्य र समानताको अनुभूति दिलाउने उनको अठोट छ ।

धुर्कोटलाई सुन्दर, शान्त र समृद्ध पालिका बनाउने, शैक्षिक केन्द्रको रूपमा विकास गर्ने उनको घोषणापत्रमा उल्लेख छ । शारीरिक रूपमा अशक्त र ७० वर्षभन्दा माथिका नागरिकलाई घरमै नियमित स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य केन्द्रहरूमा चिकित्सक, आवश्यक उपकरणसहित आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने संकल्प भण्डारीले गरेका छन् ।

छल्दीखोला–विचित्र गुफालाई पर्यटकीय क्षेत्र बनाउने, लुम्बिनी–पाल्पा–रिडी–रेसुङ्गा–विचित्रगुफा–कंकेदेउराली–अस्कुना–स्वर्गद्वारी धार्मिक मार्गको प्रवद्र्धन गर्ने भण्डारीको योजना छ । त्यस्तै, लुम्बिनी–पाल्पा–रानीमहल–रिडी–रेसुङ्गा–विचित्रगुफा–सन्धिखर्क–सुपादेउराली–तिलौराकोट धार्मिक मार्गको प्रवर्धन गर्ने, नयाँ गाउँ–पिपलधारा–धनमुढा–हाडहाडेलाई सुन्तला÷कागती क्षेत्रको रूपमा विकास, उत्पादनको बजारीकरणमा सहजीकरण गर्ने घोषणा भण्डारीले गरेका छन् ।

किवी, एभोकाडो, ड्रागन फ्रुट, स्ट्रबेरी जस्ता नयाँ फलफूल उत्पादन र बजारीकरणमा जोड दिने, बाँदर आतङ्क हटाउने कार्यक्रम सञ्चालन गर्ने भण्डारीको चुनावी एजेन्डा छ । ‘एक घर, एक धारा’ तथा ‘सफा र स्वच्छ गाउँ’ अभियान सञ्चालन, पालिका क्षेत्रका प्रमुख सडकहरू कालोपत्रे र अन्य सडकको स्तरोन्नति गर्ने उनका योजना रहेका छन् ।

थप उम्मेदवारहरु

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]