गीताकुमारी पौडेल अधिकारी

महिला, ५९ बर्ष
१६,९६६ मत
उम्मेदवारी : मेयर

 

२०७४ सालसम्म गीता पौडेल अधिकारीको परिचय दमकमा ‘गीता म्याम’को रूपमा सीमित थियो । त्यतिबेलासम्म उनले २८ वर्ष लामो प्राध्यापन पेशालाई विश्राम दिनेबारे सोचेकी पनि थिइनन् । तर २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धी नेपाली कांग्रेसले बलियो उम्मेदवार उठाएपछि एकाएक अधिकारीको जीवनले नयाँ मोड लियो । एमालेले उनलाई उपमेयरको उम्मेदवार बनायो, प्राध्यापकको परिचयबाट चिनिएकी अधिकारी राजनीतिकर्मी बनिन् ।

एमाले नगर कमिटीले २०७४ सालमा दाबेदारको नाम सिफारिस गर्दा सुरुवाती सूचीमा उनको नाम थिएन । यद्यपि, अधिकारीलाई उठाए निर्वाचन जितिने आकलनसहित केन्द्रबाटै उनको नाम अघि सारिएको थियो ।

उपमेयरमा उठ्ने अफर आएपछि उनले २५ जेठ २०७४ मा दमक बहुमुखी क्याम्पसको सह–प्राध्यापकबाट राजिनामा दिइन् र उपमेयर बन्ने दौडमा होमिइन् । उनी झण्डै चार हजार मतान्तरले विजयी पनि भइन् । उपमेयरमा निर्वाचित भएपछि दमकवासी मेयर रोमनाथ ओलीभन्दा बढी अधिकारीसँग नजिकिए ।

अधिकारीकै भनाइमा झण्डै तीनदशक प्राध्यापन पेशामा सक्रिय रहँदा उनीसँग नजोडिएका घरपरिवार नगरमा कमै थिए । त्यही कारण मेयर ओलीसँग भन्दा अधिकारीसँग सेवाग्राहीले सहज माने । फेरि रोमनाथ पहिल्यै पनि मेयर भइसकेका र राजनीतिक रूपमा पनि अग्लो कद बनाइसकेका व्यक्ति भएकाले नगरपालिका जाने सेवाग्राही पहिले अधिकारी कहाँ नै छिर्थे ।

अहिले उनै अधिकारीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले दमकमा मेयरको टिकट दिएका छन् । पूर्वप्रधानमन्त्री ओलीको गृहनगर भएकाले दमकमा एमालेले ओलीलाई उम्मेदवार छान्ने जिम्मेवारी दिएको थियो । झण्डै तीनदशक प्राध्यापन गरेकाले उनले नागरिकस्तरबाट पनि राम्रो सद्भाव र सहयोग पाएकी थिइन् ।

‘विगतमा पाँच वर्षमा गरेको काम नै मेरो जितको आधार हो’ मेयरको टिकट पाएपछि उनी भन्छिन्, ‘अधिकांश मैले पढाएका विद्यार्थी नै मतदाता भएकाले फरक पार्टी र आस्था भए पनि सद्भाव पाइँदो रहेछ ।’ यही सामाजिक सम्बन्धले उपमेयरको जिम्मेवारीमा पाँच वर्षको कार्यकाल पूरा गर्दा कुनै असजिलो अनुभूति भएन ।

दमक एमाले अध्यक्ष ओलीको प्रतिष्ठाको विषय भएकाले सत्तारुढ गठबन्धनले राप्रपासँग पनि मिलेर दमकमा संयुक्त गठबन्धन बनाएको छ । दमक राप्रपाको पनि राम्रो पकड भएको क्षेत्र हो । अघिल्लो स्थानीय तह निर्वाचनमा राप्रपाका उम्मेदवार राम थापाले ७ हजार ६५५ मत ल्याउँदै दोस्रो भएका थिए ।

विगतमा राप्रपाबाट उम्मेदवार बनेका थापा नै अहिले अधिकारीका प्रतिस्पर्धी हुन् । तर अधिकारी भन्छिन्, ‘पहिलेको हिसाब एकातिर होला, तर हामीले विगतमा गरेका काम, मेरो पृष्ठभूमि जस्ता कुराले मेरो जित सुनिश्चित छ ।’

२५ कात्तिक २०१९ मा पिता स्व। लोकनाथ पौडेल र स्व। सावित्रीदेवी पौड्यालको कोखबाट जन्मिएकी उनको पुख्र्यौली घर रामेछाप हो । पछि परिवार बसाइँ सरेर गौरीगञ्ज आएको थियो । उनले गौरीगञ्जबाटै माध्यमिक तहको शिक्षा पूरा गरेकी हुन् । पछि २०४५ सालमा विवाह गरेर दमक पुगिन् ।

अनेरास्ववियुमा संगठित हुँदै विद्यार्थी जीवनमै राजनीति सुरु गरेकी उनी २०४७ पछि अखिल नेपाल महिला संघमा पनि आबद्ध भएर काम गर्न थालिन् । लामो समय शिक्षण पेशामा संलग्न उनी दमक क्याम्पसमा दुई पटक अर्थशास्त्रको विभागीय प्रमुख भएर पनि काम गरिन् ।

उनी २०६० देखि २०६२ सम्म सहायक क्याम्पस प्रमुख बनिन् । अधिकारीले नेपाल प्राध्यापक संघ, दमक क्याम्पस इकाइ समितिको कोषाध्यक्ष, प्राध्यापक संघको उपसभापति भएर पनि काम गरिन् । उनीसँग बुद्धिजीवी परिषद् झापाको जिल्ला उपाध्यक्ष, एमाले दमक नगर कमिटी र अनेम संघ झापाको सल्लाहकार भएर काम गरेको अनुभव पनि छ ।

हाल उनलाई पार्टीले केन्द्रीय कमिटी सदस्य बनाएको छ । उनले प्रबल जनसेवाश्री चतुर्थ श्रेणीको सम्मान पनि पाएकी छन् ।

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]