रामकुमार थापा

पुरुष, ६८ बर्ष
१७,५२५ मत विजयी

एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि प्रतिष्ठाको विषय हो, झापाको दमक नगरपालिका । यही बुझेर गृहनगरमै ओलीलाई चुनौती दिन सत्ता गठबन्धनले राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग गठबन्धन गरेको छ ।

सत्तारुढ दलहरू र राप्रपा मिलेर बनाइएको संयुक्त गठबन्धनबाट दमकको मेयरका लागि राम थापा अघि सारिएका छन् । थापा राप्रपाका प्रदेश नं. १ का अध्यक्ष पनि हुन् । दमकमा मेयरको प्रतिस्पर्धामा राम थापा नयाँ पात्र होइनन् । उनी यसअघि पनि दुईपटक दमकको मेयर पदमा उम्मेदवार बनिसकेका छन् । तर दुवैपटक एमाले उम्मेदवार रोमनाथ ओलीसँग उनी पराजित भए ।

२०७४ मा सम्पन्न स्थानीय निर्वाचनमा उनी ओलीसँग ३ हजार ११५ मतान्तरले पराजित भएका थिए । २०५४ सालको निर्वाचनमा पनि उनै ओलीसँग राप्रपाका उम्मेदवार थापा पराजित भएका थिए । यसपटक सत्ता गठबन्धनको पनि साथ पाएपछि थापा तेस्रो पटकको प्रयासमा विजयी हुनेमा विश्वस्त देखिन्छन् ।

‘अघिल्लो चुनावमा दोस्रो स्थानमा थियौं’ उनी भन्छन्, ‘अहिले तेस्रो र चौथो शक्तिसहित एकीकृत समाजवादी पार्टीको समर्थन हुँदा जित सुनिश्चित छ ।’ पाँचथरमा २६ असोज २०१३ मा जन्मिएका उनी २०२६ सालमा बसाइँ सरेर दमक आएका थिए । अध्ययनका क्रममा उनी २०३० सालदेखि राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा सक्रिय भए । पछि उनी सोही संगठनको केन्द्रीय उपाध्यक्ष पनि भए ।

२०३९ सालमा दमक बहुमुखी क्याम्पसमा राजनीतिशास्त्रबाट स्नातक तह उत्तीर्ण गरेका उनी तत्कालीन दमक वडा नं. १२ को वडाध्यक्ष पनि बनेर १२ वर्ष लगातार वडाको नेतृत्व गरे । पछि प्रधानपञ्चको चुनाव लड्दा उनी झिनो मतान्तरले पराजित भए । उनलाई पञ्चायतमै ९ महिनाका लागि मनोनीत मेयर पनि बनाइएको थियो ।

दोस्रो संविधानसभाको निर्वाचनमा थापाले झापा क्षेत्र नं. ७ बाट केपी ओलीसँग प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला ओलीले १९ हजार २८७ मत ल्याउँदा कांग्रेसले ११ हजार ४१ मत पाएको थियो भने थापा ९ हजार ३३५ मतसहित तेस्रो स्थानमा खुम्चिए ।

राप्रपामा उनी स्थापनाकालदेखि नै सक्रिय छन् भने दमकको नगर सचिव, अध्यक्ष हुँदै हाल प्रदेश कमिटीको नेतृत्व गरिरहेका छन् । दमकमा उनी दमक क्याम्पस, खानेपानी, कनकाई माई मुक्तिघाट लगायतमा संलग्न भएर सामाजिक काममा सक्रिय थिए ।

एमाले अध्यक्ष ओलीलाई हराउन उनलाई गठबन्धनले उठाएको चर्चा भइरहँदा थापा भन्छन्, ‘दमकमा अघिल्लो नेतृत्वले राम्रो काम गरेको थिएन, फेरि गठबन्धनले मात्र दमकमा जित्न सम्भव थिएन । त्यसैले एमाले हराउन नभई दमकको हितका लागि तालमेल गरेका हौं ।’

दमकको मेयरका लागि उम्मेदवारी दिंदै गर्दा थापाले नगरपालिकालाई सेवा गर्ने थलोको रूपमा विकास गर्ने एजेण्डा अघि सारेका छन् । ‘हामी नगरपालिकालाई शासन गर्ने ठाउँ होइन, सेवा गर्ने परिसर बनाउने छौं’ उनले भने, ‘हाम्रो नेतृत्वमा दमकलाई उदाहरणीय नगर बनाएर देखाउँछौं ।’

उनले आफू विजयी भए कक्षा १२ सम्म निःशुल्क पढाउने र विपन्नका लागि सुलभ स्वास्थ्योपचारको व्यवस्था गर्ने योजना अघि सारेका छन् । उनीहरूका लागि खाद्यान्नको व्यवस्था गर्ने पनि उनको योजना छ ।

सवारीको पटके करलाई पनि खारेज र अव्यावहारिक रूपमा लागु गरिएका करलाई परिमार्जन गर्ने थापाले प्रतिबद्धतामा उल्लेख गरेका छन् । ‘दमकलाई स्वास्थ्य, शिक्षा, व्यवसाय र आयआर्जनको कुरामा व्यवस्थित नगर बनाउँछौं’ उनी भन्छन्, ‘दमकलाई समुन्नत नगर बनाउने हाम्रो लक्ष्य हो ।’

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]