पुष्‍प वादी

पुरुष, ४७ बर्ष
६,८८२ मत विजयी
उम्मेदवारी : मेयर
चौरजहारी नगरपालिका, कर्णाली प्रदेश

पुष्प वादी नेकपा माओवादी केन्द्र चौरजहारी नगरको इञ्चार्ज हुन् । २०५७ सालमा जनयुद्धमा पूर्णकालीन भएका वादी सोही वर्ष पार्टीको भ्रातृ संगठन दलित मोर्चाको जिल्ला अध्यक्ष बनेका थिए ।

२०६१ सालमा मोर्चाको केन्द्रीय सदस्य र २०६२/६३ मा मोर्चाको प्रदेश इन्चार्ज बनेका उनी शान्ति प्रक्रियापछि सल्यान, रुकुम इन्चार्ज, मोर्चाको सचिवालय सदस्य एवम् पार्टीको राज्य समिटी सदस्य बने । २०६८ सालदेखि चार वर्ष वादी समुदाय उत्थान विकास समितिको संयोजक भएर उनले काम गरेका थिए ।

बहुचर्चित रुकुमको सोती घटनापछि दलित समुदायमा माओवादीको छवि बिग्रिएको बेला माओवादीले रणनीतिक रूपमा दलित समुदायकै पुष्प वादीलाई उम्मेदवारको रूपमा अघि सारेको छ । उनी भन्छन्, ‘हाम्रो पार्टीले वर्ग र समाज उत्थानको लागि काम गर्दै आएको छ ।’

त्यसको उदाहरण दिंदै उनले भने, ‘यसको पछिल्लो उदाहरणमध्ये म पनि एक हुँ भन्न सकिन्छ । २०७४ को स्थानीय तह निर्वाचनमा पार्टीले दुई जनालाई उपप्रमुख बनायो । वडाध्यक्षमा पनि त्यसरी साथीहरू आउनुभयो । प्रदेश सभातर्फ धेरैमा एक जना मात्रै रातो कामीले निर्वाचन लड्नुभयो । रुकुम जिल्लामै जन्मनुभएका महेश्वर गहतराज संघीय मन्त्री हुनुहुन्छ । आम रूपमा रुकुमको पार्टी नेतृत्वले हाम्रो वर्ग, समाज उत्थानका लागि गरिरहेको छ ।’

विद्यालय पढ्ने बेलामा रोटी राखेको झोला छोइदिएको भन्दै सहकर्मीबाट कुटाइ खाएको र पछि उल्टै शिक्षकबाट पनि कुटाइ खाएपछि त्यही चेतले जनयुद्धमा लामबद्ध बनेको उनी बताउँछन् । ‘नेपाल उत्पीडित मुक्ति समाजसँगको भेटघाट र प्रशिक्षणपछि भइरहेको विभेदबारे प्रष्ट भयो र यसको अन्त्य गर्ने मुख्य शक्ति माओवादी नै हो भन्ने निष्कर्षसहित पूर्णकालीन भएँ’, उनले भने ।

उनले सामाजिक चेतना, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी र कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिएर चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

चौरजहारीमा पाँच वर्षको अवधिमा माओवादीबाटै मेयर जितेका विशाल शर्मा नेतृत्वको टोलीले नमूना काम गरेको बताउँदै उनले आफूले पनि त्यसैको आधारमा थप नमूनायोग्य काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]