प्रेमबहादुर वली

पुरुष, ५७ बर्ष
६,३११ मत
उम्मेदवारी : मेयर
चौरजहारी नगरपालिका, कर्णाली प्रदेश

प्रेमबहादुर वली माओवादी केन्द्रको गढ भनेर चिनिंदै आएको रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार छन् ।

२०३८ सालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहको बताउने वलीले शितल उच्च माविबाट एसएलसी र नेपालगञ्जको महेन्द्र बहुुमुखी क्याम्पसबाट कानुनमा स्नातक गरेका छन् । शितल उच्च माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष, वन उपभोक्ता समिति, सिचाइँ उपभोक्ता समिति लगायतमा रहेर काम गरेका उनी सशस्त्र द्वन्द्वकालमा उद्योग वाणिज्य संघ चौरजहारीको उपाध्यक्ष थिए ।

पछिल्लो समय भने उनी नेपाली कांग्रेसको नगर सभापतिको जिम्मेवारीमा छन् । साथै आफ्नो बाजेको पालादेखि गर्दै आएको कपडा व्यापारलाई पनि निरन्तरता दिएको उनी बताउँछन् ।

‘२००७ सालदेखि नै हाम्रो कपडाको व्यापार थियो रे, बाजेको पालादेखिको त्यही व्यापार मैले पनि चौरजहारीमा बसेर गर्दै आएको छु,’ उनले भने । केही समय ठेक्कापट्टाको काम गरे पनि अहिले भने त्यसलाई छोडेको उनले बताए ।

बुवा दिलबहादुर वली नगर विकास समितिको सभापति र कान्छा बुवा हरिभक्त वली जिल्ला विकास समितिको सभापति रहेको र उनीहरु कांग्रेसको राजनीति गर्ने गरेकाले त्यसैको प्रभावले आफू पनि राजनीतिमा लागेको उनी बताउँछन् । २०५५ सालमा उनको कान्छो बुवा हरिभक्त माओवादी कार्यकर्ताबाट मारिएका थिए ।

मेयर उम्मेदवार प्रेमबहादुर वलीका भाइ प्रेम प्रकाश वली (हरिभक्तका छोरा) नेपाली कांग्रेस पश्चिम रुकुमको सभापति हुन् ।

आफूलाई निम्न वर्गीय परिवारको सदस्य बताउने वलीले २०७४ सालको सरकारले जनअपेक्षा अनुसार काम नगरेकाले आफू मेयरको प्रतिस्पर्धामा उत्रिएको बताए । ‘मेरो चुनावी एजेण्डा खासै केही पनि छैन । राजनीतिमार्फत् निःस्वार्थ भावले समाजसेवा गर्ने चाहना छु,’ वलीले अनलाइनखबरसँग भने । आफू मेयर पदमा निर्वाचित भए सरकारी सेवा सुविधा नलिई काम गर्ने उनले बताए ।

केन्द्रमा सत्ता गठबन्धनका दलहरुबीच चुनावी तालमेल गर्ने निर्णय भए पनि रुकुम पश्चिममा भने माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा उत्रिएको छ । नेपाली कांग्रेसले भने नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ । कांग्रेसबाट प्रेमबहादुर वली मेयरको उम्मेदवार बन्दा एमालेका टंकप्रसाद वली उमपेयरको उम्मेदवार बनेका छन् ।

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि election@onlinekhabar.com