आकाश हाङ्ग लिम्बु

पुरुष, ४५ बर्ष
२,४३९ मत

हिन्दु राष्ट्रवादी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा झापाका राजेन्द्र लिङ्देन विजयी भएपछि सुनसरीको इटहरीमा दक्षिणपन्थी राजनीति तरंगित छ । आफ्नो खुम्चिंदो राजनीतिमा सक्रियता बढाएका इटहरीका राजावादीहरूले यही ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा इटहरी नगरपालिकाको मेयरमा आकाश हाङ सुब्बालाई उठाएका छन् ।

२०३२ सालमा जन्मिएका आकाश व्यवस्थापन संकायका स्नातकोत्तर हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को युवा संगठनको केन्द्रीय सदस्य पनि हुन् ।

इटहरीको राजावादी राजनीतिको अगुवाइ स्वर्गीय महेश्वर लिम्बूका सन्तानले गरिआएका छन् । इटहरीको २ र ३ नम्बर, सुन्दर हरैंचा नगरपालिकाको ५ र ६ नम्बरमा पर्ने राजमार्ग उत्तरको क्षेत्रलाई महेश्वर झोडा भनिन्छ । पञ्चायतकालमा महेश्वर झोडा खोलेर अधिपति बनेका महेश्वर लिम्बुका नाति हुन्, आकाश ।

आकाशका बुवा रामकुमार सुब्बा २०३५ सालदेखि २०४६ सालसम्म तीनपटक इटहरी गाउँ पञ्चायतको प्रधानपञ्च भए । २०४६ सालको जनआन्दोलनपछि २०५४ मा भएको प्रथम स्थानीय निकाय निर्वाचनमा राप्रपाबाट गाविस अध्यक्ष उठेका उनी पराजित भए ।

२०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्तापलट गरेपछि मन्त्री समेत बनेका रामकुमार सुब्बा इटहरीका सदावहार नेता मानिन्छन् । जहिल्यै चर्चामा रहने बावुको राजनीतिक विरासत जोगाउन अग्रसर भएका आकाशको अगाडि आधुनिक युगको चुनौती खडा छ ।

यो चुनाव उनले राजतन्त्र फालेर देशमा गणतन्त्र स्थापना गर्ने आन्दोलनमा होमिएको पुस्तासँगै स्वतन्त्र विचार राख्ने नयाँ पिंढीका मतदाताको सामना गर्नुपर्नेछ ।

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि election@onlinekhabar.com