हेम कर्ण पौडेल

पुरुष, ४३ बर्ष
३३,०४९ मत विजयी
उम्मेदवारी : मेयर

२०३५ सालमा झापामा जन्मिएका हेमकर्ण पौडेलले सुनसरीको इटहरीलाई राजनीतिक कर्मथलो बनाए । नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका वाक्कलाका धनी उनी इटहरीको जनता बहुमुखी क्याम्पसको स्ववियु सभापति चुनिएपछि नेपाली कांग्रेसको आशलाग्दा युवा नेताका रूपमा उदाए ।

नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको किल्ला भत्काएका पौडेल त्यसपछि नेविसंघ, सुनसरीको सभापति बन्न चाहन्थे, तर कांग्रेसले उनलाई तरुण दलको जिल्ला सचिव बनायो । त्योसँगै इटहरी नगर सदस्यको जिम्मेवारी पनि दियो ।

त्यसबीचमा प्रखर वक्ताको परिचय बनाएका पौडेललाई पार्टीको १२औं र १३औं अधिवेशनबाट लगातार दुईपटक इटहरी उपमहानगर समितिको सर्वसम्मत सभापति बनायो ।

उपमहानगरको सभापतिको हैसियतले २०७४ को स्थानीय तह निर्वाचनमा मेयरको दावेदार थिए उनी, तर टिकट पाएनन् । पार्टीको त्यो निर्णयविरुद्ध सानोतिनो आन्दोलन नै भयो । लगत्तैको प्रदेशसभा निर्वाचनमा पार्टीले टिकट दियो, तर उनले जित्न सकेनन् ।

कांग्रेसको १४औं अधिवेशनबाट इटहरी उपमहानगर समिति सभापतिमा ‘ह्याट्रिक’ गरेका पौडेलले यसपालि मेयरको टिकट पाए । सत्तारुढ गठबन्धनका तीन जना आकांक्षीलाई उछिनेर टिकट लिएका उनी इटहरीको अन्तर–कुन्तर बुझेका उम्मेदवार मानिन्छन् ।

गत स्थानीय निर्वाचनमा इटहरीको मेयरमा एमालेका द्वारिकालाल चौधरी २२ हजार ६८९ मत ल्याएर विजयी भएका थिए । उनको निकटतम प्रतिस्पर्धी कांग्रेसले १९ हजार ९८५ मत पाएको थियो ।

उक्त निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले ३ हजार ३६४ मत ल्याएको थियो । यसपटक गठबन्धनकै हिसाबले मत खसे यो मत कांग्रेसका पौडेलले अघिल्लो पटक एमालेले पाएको भन्दा बढी हुनपुग्ने देखिन्छ ।

यसपटक जनता समाजवादी पार्टी (जसपा) र एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) पनि गठबन्धनमा छ । यसले पौडेललाई अनुकूलता बढाएको छ । गठबन्धनको कागजी सम्झौतालाई मतमा बदल्ने चुनौती भने छ नै ।

त्यसरी गठबन्धन भावना जगाउन सके वर्षौंअघि जनता बहुमुखी क्याम्पसमा अनेरास्ववियुको किल्ला भत्काए जस्तै इटहरी उपमहानगरपालिकामा एमालेलाई पन्छाएर नेपाली कांग्रेसको नयाँ अध्याय सुरु गर्न सक्षम हुनेछन्, हेमकर्ण पौडेल ।

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि election@onlinekhabar.com