यामकुमार चुङ्गवाङ सुब्बा

पुरुष, ६३ बर्ष
१८,०३१ मत
उम्मेदवारी : मेयर

२०१५ साल २७ भदौमा ताप्लेजुङको सान्थाक्रामा जन्मिएका यामकुमार सुब्बा २०३५-३६ सालको विद्यार्थी बगावतबाट उदाएका वाम नेता हुन् ।

त्यसबेला काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल)मा पढिरहेका उनी २०३६ सालमा पक्राउ परेर १७ दिन हिरासतमा परेका थिए । उनले स्नातक भने कानुनमा गरे, नेपाल ल क्याम्पसबाट ।

२०३५ सालमै नेकपा (माले) निकट जनसांस्कृतिक मञ्चमा आवद्ध भएका र ल क्याम्पसमा अनेरास्ववियु इकाई कमिटी सदस्य बनेका सुब्बाले नेकपा (एमाले)को संगठित सदस्यता भने २०५६ असोजमा मात्र लिए ।

२०६२-६३ सालको जनआन्दोलनमा एमाले, इटहरी नगर कमिटी सचिवको हैसियतमा संयुक्त संघर्ष समितिको नेतृत्व गर्ने क्रममा उनी १४ दिन प्रहरी हिरासत बसे ।

२०६६, २०६९ र २०७७ सालको अधिवेशनबाट तीनपटक इटहरी नगर अध्यक्षमा निर्वाचित सुब्बालाई यसपटक एमालेले इटहरी नगरपालिकाको मेयरमा उठाएको छ ।

सरल जीवनशैली, निरन्तरको राजनीतिक क्रियाशीलता र गत निर्वाचनमा इटहरीमा एमालेका मेयरका उम्मेदवारले पाएको मत संख्या (२२ हजार ६८९) सुब्बाको लागि अनुकूलताको रूपमा देखिन्छ ।

अघिल्लो निर्वाचनमा मेयरमा १९ हजार ९८५ मत पाएर दोस्रो भएको नेपाली कांग्रेससहित पाँचदलीय सत्ता गठबन्धन एमालेविरुद्ध एकजुट हुनु चाहिं सुब्बाका लागि मुख्य प्रतिकूलता भएको छ । यसबाहेक एमाले विभाजनको घाटा पनि उनले व्यहोर्नुपर्ने देखिन्छ ।  

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि election@onlinekhabar.com