खडकराज पौडेल

पुरुष, ४२ बर्ष
३,०३० मत
उम्मेदवारी : मेयर
पोखरा महानगरपालिका, गण्डकी प्रदेश

२६ माघ २०७८ मा लेखक गनेस पौडेलले एकाबिहानै सामाजिक सञ्जालमा आफू पोखरा महानगरको मेयरमा उठ्ने घोषणा गरे । उनको उम्मेदवारीलाई कतिले चर्चाका लागि गरिएको राजनीतिक ‘स्टन्ट’ को संज्ञा दिए भने कतिपयले रुचिका साथ हेरे ।

पालिका निर्वाचनमा दलतन्त्रविरुद्ध स्वतन्त्र उम्मेदवारीको यो अभियानलाई पौडेलले भने ‘जित वा हारभन्दा परको एउटा लडाइँ’ भने । ‘दशकौंको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एकथरी अटेरी मत हुन्छ’ उनले भनेका छन्, ‘म त्यो लडाइँमा जाँदैछु । यसपटक अटेर गर्दैछु ।’

यसरी महानगर प्रमुखमा दाबा गर्ने खड्कराज (गनेस) पौडेल पहिलो अटेरी बने । त्यसपछि उनको सिको गर्दै थुप्रैले विभिन्न पदमा उम्मेदवारी दिन थाले । पोखराका विभिन्न वडामा १७ जना र देशभर ४ हजारभन्दा बढी स्वतन्त्र उम्मेदवारी परेका छन् ।

स्थानीय तहलाई दलीयतन्त्रमुक्त बनाउने मुख्य एजेन्डामा पौडेलले गरेको ‘अटेरी अपील’ ले यसरी एउटा अभियानको रूप लियो । राजनीति गर्ने तरिकामा परिवर्तन खोजिरहेका उनले यसअघि पनि रूपान्तरणको केही प्रयास गरेका थिए, तर यसपटक उनको परिकल्पनाले देशव्यापी तरंग सिर्जना गरेको छ ।

लेखकका रूपमा उनको ‘पैताला’ (उपन्यास) र ‘मुसामानुष’ (अनुवाद) प्रकाशित छ । स्तम्भकारको रूपमा पनि एक समय उनी राजधानीका अखबारमा राम्रै चलेका थिए । पोखराको साहित्य सर्कलमा एउटा भनाइ चर्चित छ– ‘गनेस आफूलाई जसरी पनि केन्द्रमा राखिराख्न रुचाउँछन् । चाहे बोलेर होस् या हाँसेर !’

वैकल्पिक तरिका, प्रभावकारी सञ्चार

चुनावी प्रचारप्रसारलाई मितव्ययी र पारदर्शी बनाउने भन्दै अटेरी समूहले आफ्नो घोषणापत्र ५० रुपैयाँ गोटा बेच्न पनि थालेको थियो । घोषणापत्र बिक्रीबाट एक लाख रुपैयाँ आम्दानी भएको समूहको दाबी छ ।

चुनाव प्रचारप्रसारमा अटेरी समूहले विभिन्न वैकल्पिक तरिका अवलम्बन ग¥यो । निर्वाचन आयोगले अटेरी उम्मेदवारलाई लौरो चुनाव चिह्न दिनासाथ मेयरका प्रत्यासी पौडेलले लेखे— बा–आमालाई टेकाउन मिल्ने, युवालाई बाटो देखाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने ।

त्यसो त उनको चुनावी अभियानमा खगेन्द्र संग्रौला, कुमार नगरकोटीसहित देशभरका नामी लेखक÷साहित्यकारले समर्थन जनाउँदै सहयोग गरेका छन् ।

पोखराका साहित्यकार अमृत गुरुङले सुरुमै सामाजिक सञ्जालमा लेखे– गनेस लहडी छ, आफैंलाई भोट नहाल्न सक्छ । उसलाई भनिदिनू कि कदाचित उसको नाममा एक भोट मात्रै आयो भने त्यो भोट मेरो हुनेछ ।’

पौडेलले यस्ता भावुक समर्थन सबैतिरबाट पाइरहेका छन् । भर्चुअल माध्यममा चर्चामा रहेका उनले भूगोलमा पनि चुनावी अभियानलाई तीव्र बनाए । उनी साइकल ¥यालीदेखि आमा समूहसँगको भेटघाटसम्मका कार्यक्रममा व्यस्त रहे ।

यसरी चुनावी प्रसारलाई तीव्र बनाइरहँदा उनले पोखराको विकास सूत्र सुनाए– ‘निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन ।’ 

नागरिकले आफ्नो ठान्ने विकास

गनेस पौडेल पोखराको विकासका लागि अटेरी अभियानले जमिन टेकेको घोषणापत्र ल्याएको जिकिर गर्छन् । ‘पोखराको सडकमा हिंडिरहेको एउटा सर्वसाधारणलाई थकाइ लाग्यो कहाँ बस्ने ? पिसाब लाग्यो, शौचालय खोइ ? सडक छ, तर समयमा बस आउँदैन, ट्राफिक जाम हुन्छ’ उनी भन्छन्, ‘विद्यालय छ, शिक्षा राम्रो छैन । पूर्वाधार छ, गुणस्तरीय सेवा छैन ।’

विकास माथिबाट थोपर्ने भन्दा पनि जनताले अपनत्व लिनसक्ने हुनुपर्ने उनको तर्क छ । ‘सपनाको सुरुवात जनताबाट हुनुपर्छ’ उनी भन्छन्, ‘गरिबी र विभेदको अन्त्य चाहेका जनतालाई भ्यूटावर र स्वागतद्वार दिएर हुँदैन । अहिले पोखरावासीको चाहना मोनोरेल हो कि सर्वसुलभ र गुणस्तरीय शिक्षा ?’

आवश्यकतामा आधारित विकासमा मात्र जनताको अपनत्व र दिगोपन हुने उनको तर्क छ । अटेरी अभियानको घोषणापत्रले पोखराको विकासका लागि सामान्य लाग्ने, तर महत्वपूर्ण मुद्दाहरू उठाएको छ ।

दलीय दलदलको विकल्प

लेखन र राजनीति फरक भए पनि दुवैले आफूलाई नयाँ–नयाँ पात्रहरूसँग चिनाइरहेको पौडेल बताउँछन् । ‘लेख्दा म पात्र डिजाइन गर्थें । पात्रहरूलाई कहाँ मिलाउने ? कहाँ छुटाउने, कहाँ द्वन्द्व गराउने भन्ने हुन्थ्यो’ उनी भन्छन्, ‘राजनीतिमा पनि उस्तै हुँदोरहेछ । एउटै पात्रलाई फरक भूमिका भेटिंदो रहेछ ।’

उनीमाथि अहिले दलीय पद्धति विरुद्ध संगठन गरेर हिंडेको आरोप लाग्ने गरेको छ । सामाजिक सञ्जालमा ‘बहुदल विरोधी’ भन्ने प्रतिक्रिया आइरहेका छन् ।

तर, आफू दलको नभएर दलतन्त्रविरुद्ध उभिएको पौडेलको जिकिर छ । पार्टीहरू विरुद्ध होइन, उनीहरूको प्रवृत्तिको खिलाफमा, दलीय सर्वोच्चता र दलको व्यक्ति छनोटविरुद्ध लडेको उनी बताउँछन् ।

‘अब यो देशमा गुण्डा र तस्कर बाँकी छैनन् । उनीहरू दलमा लागिसके, जनप्रतिनिधि बनिसके’ पौडेल भन्छन्, ‘दलहरूले ल्याएको यो चरम बेथितिविरुद्ध लागेको हुँ म ।’

स्थानीय तहहरूमा दलतन्त्रको विरोध र स्वतन्त्र उम्मेदवारी पुष्टि गर्ने अनेक अटेरी तर्क छन्, उनीसँग ।

‘किसान हुनुस्, तर कुनै दलसँग चोचोमोचो मिलाउन सक्नुभएन भने तपाईंले कहिल्यै अनुदान पाउनुहुन्न । संसारकै उत्कृष्ट विश्वविद्यालयमा पढेर नेपाल फर्केर प्राध्यापन गर्नुस्, तर गँवार नेतालाई चाकरी पुगेन भने तपाईं जिन्दगीमा डीन, रजिस्ट्रार, भिसी त छोड्नुस् विभागीय प्रमुख पनि बन्नुहुन्न’ उनी भन्छन्, ‘जतिसुकै असल निर्माण व्यापारी हुनुस्, दलमा हुनुहुन्न भने तपाईंलाई कहिल्यै टेन्डर पर्दैन ।’

एक स्वतन्त्र व्यक्तिको रूपमा नागरिकको अस्तित्व नहुने अवस्थाप्रति पौडेलमा तीव्र आक्रोश छ ।

‘कर्मचारी हुनुस् या सुरक्षाकर्मी, दलको गुलामी गर्नुभएन भने न पायकमा सरुवा हुन्छ न बेलामा बढुवा । दलको टीका विना कोही सर्जक प्राज्ञ बन्न सक्ने अवस्था छैन’ उनी भन्छन्, ‘कोही निर्दोष थुनामा प¥यो भने दलको सिफारिस विना रिहा हुँदैन ।’

नागरिक सर्वोच्चता भन्दै ल्याएको लोकतन्त्रमा दलहरू सर्वोच्च हुन पुगेको पौडेलको तर्क छ । ‘यो व्यवस्थामा नागरिकलाई प्यार्–प्यार् कराउनबाहेक अरू कुनै अधिकार छैन’ उनी भन्छन्, ‘दलीय सर्वोच्चतालाई खारेज नगरी ‘मेरिटोक्रेसी’ स्थापना हुँदैन । ‘मेरिटोक्रेसी’ विना विकास भएको संसारमा कुनै देश छैन ।’

अविकास र गरिबीलाई मतदाताकै रोजाइजस्तो बनाइएको नेपालमा दलतन्त्रविरुद्ध अटेरी गर्ने आँट नगरेसम्म नागरिकका दुःख नसकिने पौडेलको तर्क छ । त्यस्तो आँटले दलदलमा फसेका दलहरूको पनि उद्धार गर्ने उनी बताउँछन् ।

‘त्यसकै निम्ति हामी आएका हौं’ उनी भन्छन्, ‘एकपटक सबैले स्थानीय तहमा दलतन्त्रविरुद्ध अटेरी गरौं ।’ 

‘बटरफ्लाई इफेक्ट’को आशा

अटेरी अभियान सफल भए यसले दलको रूप लिनसक्ने पोखरामा मेयरका प्रत्यासी पौडेल बताउँछन् । ‘नेपालका सबै राजनीतिक दल कुनै न कुनै अभियानबाटै जन्मिएका हुन्, तर पछिल्लो समय दल जन्माउने, अभियान नचलाउने प्रवृत्ति हावी भयो’ उनी भन्छन्, ‘हाम्रो अभियान सफल भयो भने निरन्तर अभियानका लागि दलमा रूपान्तरण हुनसक्छ ।’

जनताको बलमा होइन, कार्यकर्ताको भरमा सत्तामा अडिने अनि राज्य स्रोतको दोहनबाट कार्यकर्ता पाल्ने अभ्यास विरुद्ध नागरिकहरू अटेर गर्ने अवस्थामा आइपुगेको पौडेलले बताए । ‘यसरी व्यवस्थापन नै गर्न नसक्ने गरी कार्यकर्ता संख्या बढ्यो’ उनले भने, ‘आश्रित कार्यकर्ता अधिक भएको देशमा लोकतन्त्र होइन, दलीय हैकम हुन्छ ।’

नेपालमा नागरिक सर्वोच्चता स्थापनाको लागि अटेरी गर्ने बेला भएको पौडेलको तर्क छ । ‘आशामुखी कार्यकर्तामा पनि निराशा सुरु भएको छ’ उनी भन्छन्, ‘अब नागरिक सर्वोच्चता स्थापित गर्न अनुकूल समय आएको छ । यसैको लागि हो अटेरी अभियान ।’ 

अटेरी अभियानले नेपालको राजनीतिमा ‘बटरफ्लाई इफेक्ट’ ल्याउने पौडेलको विश्वास छ । ‘एउटा सानो परिवर्तनको सूक्ष्म परिणाम बढ्दै–बढ्दै अत्यधिक ठूलो बदलावको कारक बन्न सक्छ भन्ने वैज्ञानिक मान्यता छ’ उनी भन्छन्, ‘नेपालमा अब त्यस्तो ‘बटरफ्लाई इफेक्ट’ हुनेवाला छ ।’

सहज छैन चुनावी विजय

पोखरामा बलियो पकड जमाएको नेकपा (एमाले) र सत्तारुढ पाँच दलको गठबन्धन ‘गर या मर’को हिसाबले चुनावी मैदानमा छन् । एमालेले जितेको अघिल्लो चुनावको नतिजा केलाउँदा ‘स्विइङ मत’ पनि एकदमै कम देखिन्छ ।

यो अवस्थामा पहिलो अटेरलाई विजयमा रूपान्तरण गर्न गनेस पौडेलका अगाडि प्रतिकूलता धेरै छन् ।

२०७४ सालमा मेयरमा उठेका पाँच जना स्वतन्त्र उम्मेदवारले केवल ३५१ मत पाएका थिए । जबकि, विजयी भएका एमालेका मानबहादुर जिसीले ६० हजार ११८ मत ल्याएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत पाएका थिए ।

अघिल्लो निर्वाचनमा पोखरा महानगर प्रमुखमा १३ वटा दल र ५ जना स्वतन्त्रले उम्मेदवारी दिएका थिए । अहिले १६ दल र ७ जना स्वतन्त्रले पोखरा महानगर प्रमुखमा उम्मेदवारी दिएका छन् । स्वतन्त्रमध्ये एक हुन्, गनेस पौडेल ।

चुनावी चिह्न लौरो समाएर घरदैलोमा हिंडेका उनले सत्तारुढ पाँचदलीय गठबन्धन र एमालेको भोट काटेर ४० हजार आसपास भोट ल्याउने दाबी गरेका छन् ।

पोखरामा शक्तिशाली भनिएको एमालेभित्रको असन्तुष्टि र गठबन्धनको द्वन्द्वबाट फाइदा लिने पौडेलको चुनावी गणित छ । पोखरामा एक लाखभन्दा बढी स्वतन्त्र मत रहेको र त्यो आफूले पाउने उनको हिसाब छ ।

समग्रमा, दलतन्त्रबाट आजित बनेर नयाँपन खोजिरहेका पोखरेलीले आफूलाई मत दिएर जिताउने गनेस पौडेलको अपेक्षा छ । जुन पूरा वा अपुरो ठहर हुने समयलाई अब दिन होइन, घन्टामा गन्न सकिन्छ ।  

थप उम्मेदवारहरु

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]