धनराज आचार्य

पुरुष, ५२ बर्ष
५८,८९३ मत विजयी
उम्मेदवारी : मेयर
पोखरा महानगरपालिका, गण्डकी प्रदेश

पाँच दलीय गठबन्धनबाट पोखरामा मेयर उठेका धनराज आचार्य स्पष्ट वक्ता मानिन्छन् । उनको दल नेकपा एकीकृत समाजवादीले पोखरेलीलाई भनिरहेको छ, ‘आचार्यसँग भिजन र काम गर्ने इच्छाशक्ति पनि छ ।’

पोखरेलीले देख्दै आएका छन्– उनी कुटील–कुशल संगठक पनि हुन् । उनले जहाँ–जहाँ नेतृत्व गरे, खरो उत्रिए ।

विपक्षीको नजरमा भने ‘धनराज आचार्य घमन्डी छन्, आफूलाई मात्र केन्द्रमा राख्छन् । राजनीतिक स्थिरता छैन । राजनीतिभन्दा व्यापार बढाए, पैसाले जे पनि गर्न सक्छ भन्ने चिन्तन छ ।’

राम्रा/नराम्रा दुवै चर्चाबीच आचार्य नेकपा (एमाले)बाट उम्मेदवार बनेका पूर्वसहकर्मी कृष्ण थापासँग मेयरको चुनावी स्पर्धामा छन् ।

२०५१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएर पोखराका राजनीतिमा चर्चामा आएका आचार्य त्यसपछि मुलधारको राजनीतिमा सक्रिय भएनन् ।

उनी एमाले निकट अनेरास्ववियुबाट स्ववियु सभापति भएका थिए । क्याम्पसको स्ववियु सभापति पदलाई पार्टी राजनीतिमा पस्ने ढोका मानिन्छ, तर उनी नेपाल कम्युनिस्ट पाटी (नेकपा) फुटेपछि कास्कीको राजनीतिमा फर्किए ।

नेकपा विभाजन पछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समान्तर कमिटी बनायो । आचार्य त्यही कमिटीको कास्की संयोजक भएर राजनीतिमा फर्किए । राजनीतिमा उनको पुनरागमन कास्की एमालेलाई टाउको दुखाइ बनेको छ ।

१३ वर्षको उमेरमा २०३९ सालबाट विद्यार्थी राजनीतिमा आएका आचार्य पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति पछि अनेरास्ववियु कास्कीको सदस्य, सचिव, अध्यक्ष हुँदै गण्डकी अञ्चल कमिटी अध्यक्ष र केन्द्रीय सदस्य बने ।

त्यसपछि २०५२ मा नेकपा (एमाले) कास्की जिल्ला कमिटी सदस्य बनेका उनी २०५४ मा पार्टी विभाजन हुँदा मालेतिर लागेर कास्की जिल्ला कमिटी सचिवालय सदस्य बने । त्यसबेला आचार्यसँगै नेकपा (माले)मा लागेका कृष्ण थापा भने केही महिनापछि नै एमालेमा फर्किए थिए ।

त्यसपछि राजनीतिमा कम र व्यवसायमा बढी लागेका आचार्यले यसबीचमा ठूलो आर्थिक फड्को मारेका छन् । स्टेसनरी पसलबाट उनले आफ्नो उद्यम सुरु गरेका थिए ।

उद्योग–व्यवसायमा सक्रिय रहेकै बेला आचार्यले एमाले निकट व्यावसायिक संघ–संस्थाको डोरी भने छाडेनन् । २०६० सालमा उनी एमाले कास्की उद्योग व्यवसाय विभाग प्रमुख बने । २०६४ देखि २०६९ सम्म नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको फ्र्याक्सन सचिव रहे ।

आचार्यले नेपाल राष्ट्रिय वाणिज्य संघ, उद्योग तथा व्यवसायी महासंघ हुँदै उनले एमालेको केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभागको जिम्मेवारी सम्हाले । उनले पार्टी विभाजनपछि पोखराको निर्वाचनलाई मुल धारको राजनीतिमा फर्किने मेसो बनाएका छन् ।

आचार्यलाई मेयरमा उठाएको एकीकृत समाजवादीका लागि पोखराको प्रतिस्पर्धा आफ्नो अस्तित्व जेगाउने लडाइ बनेको छ । एमालेको दह्रो पकड भएको पोखरामा एकीकृत समाजवादीले मेयरको टिकट पाएपछि नेपाली कांग्रेसमा ठूलो असन्तुष्टि छ ।

गठबन्धन भित्रै माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा रहेको असन्तुष्टि पनि आचार्यका लागि जोखिम बनेको छ ।

२०५४ सालमा थापालाई मेयर बनाउन महत्वपूर्ण भूमिका खेलेका आचार्य आफैंले यसपटक गर्ने प्रतिस्पर्धालाई निकै रोचक मानिएको छ ।

गठबन्धनको कांग्रेसले बचनमा कटिबद्ध भएर भोट हालिदिए आचार्यलाई जीत सहज हुनेछ । मतपत्रमा कांग्रेसको चुनाव चिह्नसमेत हुने भएकाले धेरै मत बदर हुने अनुमान पनि छ ।

जातिय विभेदको मुद्दामा परम्परावादी तर्क गर्दा आलोचित बनेका एमालेका उम्मेदवार थापासँग रुष्ट बनेको समूहले भने आचार्यलाई मत दिने पोखरामा चर्चा छ ।

१०–१२ वर्षयता लायन्स क्लबमा समेत सकृय रहेका र हालसम्म कुनै विवादमा नपरेका आचार्य सन् २०१७/२०१८ मा डिस्ट्रिक्टको गभर्नर थिए । उनले लायन्स क्षेत्रको मत पनि तान्ने एकीकृत समाजवादीको आशा छ ।

पार्टी, सामाजिक तथा व्यवसायीक संगठन चलाउन र विवादहरु मिलाउनमा निकै चतुर मानिएका उनका अगाडि पोखराको मेयर बन्न सहजता र असहजता दुवै उत्तिकै देखिन्छ ।

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]