कृष्णबहादुर थापा

पुरुष, ६२ बर्ष
५२,८४८ मत
उम्मेदवारी : मेयर
पोखरा महानगरपालिका, गण्डकी प्रदेश

अन्ततः पोखरा महानगर प्रमुखमा टिकट पाएपछि कृष्ण थापाले नेकपा (एमाले) गण्डकी प्रदेश सभा सदस्यबाट राजिनामा दिए । यो उनको बाध्यता नभई रहर थियो ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि मेयरका आकांक्षी थिए । एमालेबाट पोखराको मेयर बन्ने दौडमा अन्तिम तीन प्रतिस्पर्धीमध्येका थापाले टिकट पाएनन् । २०७४ को स्थानीय तह निर्वाचनमा मानबहादुर जिसीले टिकट पाए र मेयर बने । यसपटक जसरी पनि टिकट हात पार्ने रणनीतिमा थापा थिए ।

मेयरको टिकट नपाए पनि थापाले गण्डकी प्रदेश कास्की क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभाको टिकट पाए । नेपाली कांग्रेसका उम्मेदवार गुरु बराललाई पराजित गर्दै गण्डकी प्रदेश सभा सदस्य बनेका थापा मन्त्री बन्न चाहन्थे ।

एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारमा मन्त्री हुन जोडबल गरे पनि नेता खगराज अधिकारी समूहका थापाको जोर चलेन । कास्कीबाट एक जना मन्त्री बनाउनुपर्ने चर्चा र दबाव रहे पनि कास्कीले मन्त्री नपाउँदा थापा पनि असन्तुष्ट थिए । फरक गुटको भएकै कारण थापालाई पृथ्वीसुब्बाले मन्त्री नबनाएको तुष थापाले पनि पोखिरहन्थे ।

स्थानीय तहको निर्वाचनको मिति तय हुनुभन्दा अघिदेखि नै सांसद थापा पोखरामा फेरि मेयर उठ्ने चर्चा चलेको थियो । नीति निर्माण गर्न भनेर पुगेका विधायिकाहरूले प्रदेश सरकारमा आफ्नो भूमिका देखाउन नसकेको भन्दै चर्को आलोचना भइरहेका बेला सांसद थापा पनि सन्तुष्ट थिएनन् । एक÷दुई पटक उनले खुलेरै अब पोखरा महानगरको मेयर उठ्ने बताइरहेका थिए ।

स्थानीय तहको मिति घोषणा भइसकेपछि पनि पोखरामा एमालेबाट धमाधम मेयरमा आकांक्षा व्यक्त भइरहेका थिए । तर, राजनीतिक वृत्तमा सबैभन्दा सम्भावित उम्मेदवारका रूपमा थापा र उपमेयर मञ्जुदेवी गुरुङको नाम चर्चामा थियो । सांसद थापा, राजीव पहारी, व्यवसायी पुष्पज्योति ढुंगाना लगायत १२ जनाले मेयरमा पार्टीभित्र आकांक्षा राखे तर उपमेयर मञ्जुदेवीले आकांक्षा नै व्यक्त नगरेपछि थापाकै सम्भावना बढेको पोखरामा चर्चा चल्यो ।

निर्वाचन गराएरै भए पनि १ महिला सहित ३ जनाको नाम केन्द्रमा सिफारिस गर्ने भनेको एमाले पोखरा नगर कमिटीले जिल्लामा कार्यकर्तामा विभाजन आउने भन्दै सबैको नाम केन्द्रमा पठायो । त्यतिबेला पनि पूर्व मेयर तथा सांसद थापा रुष्ट बने । केन्द्रमा नाम सिफारिस भइसकेर केन्द्रीय एमाले सचिवालयले गण्डकीमा जुनसुकै बेला सरकार बनाउनुपर्ने भएकाले सांसदलाई मेयरमा नलडाउने उपमहासचिव पृथ्वीसुब्बाले बताएपछि थापाले खुलेरै आपत्ति जनाए ।

आफूलाई मेयर बन्न रोक्नकै लागि उपमहासचिव गुरुङले चलखेल गरेको भन्दै थापा लगायत कास्कीको एउटा खेमाले खुलेरै असन्तुष्टि पोख्यो । वैशाख १० गते पोखरा लगायत मुलुकका अधिकांश मेयरको नाम टुंग्याउँदै केन्द्रले सार्वजनिक गर्‍यो, ‘पोखराको मेयरमा दीपक पौडेल, उपमेयरमा मञ्जुदेवी गुरुङ नै ।’

यसअघि एमालेले शिक्षक पृष्ठभूमिका पुराना कम्युनिस्ट नेता दीपक पौडेललाई पोखराको मेयरमा उठाएको थियो । तर, उनले सुन चोरेको भनिएको सीसीटिभी फुटेज भाइरल भएपछि थापाको बाटो खुलेको हो ।

२०५४ सालमा तत्कालीन पोखरा उपमहानगरको मेयर बनेका थापासँगै एमालेले मञ्जुदेवी गुरुङलाई पोखरा महानगरको उपप्रमुखमा दोहोर्‍याउने भएको छ । मेयर, उपमेयरको स्वाद चाखिसकेका थापा र मञ्जुदेवीलाई फेरि पोखराको नेतृत्वमा पुर्‍याउने एमाले रणनीति छ ।

अर्काको टिकट खोसिएपछि मेयरका उम्मेदवार बनेका थापालाई एकातिर आलोचना र आरोपहरूलाई चिर्नुपर्नेछ भने अर्कोतर्फ सिंगो गठबन्धनलाई पराजित गर्नुपर्ने बाध्यता छ । एकातिर टिकट खोसिएपछि असन्तुष्ट बनेका पौडेल र थापालाई मन नपराउने एमालेभित्रैको एउटा गुटलाई मिलाएर मेयरको कुर्सीसम्म पुग्नुपर्ने चुनौती छ ।

थापाको प्रतिस्पर्धामा गठबन्धनका तर्फबाट पूर्व सहकर्मी एकीकृत समाजवादीका धनराज आचार्य छन् । एमाले फुटेपछि केही समय तत्कालीन मालेमा सँगै काम गरेका थापा र आचार्यको प्रतिस्पर्धालाई निकै रोचक ढंगले हेरिएको थियो ।

अघिल्लो निर्वाचनमा करिब १४ हजार मतान्तरले चुनाव जितेको एमालेका उम्मेदवार थापालाई एकातिर आफ्नै विरासत कायम राख्नुपर्ने चुनौती छ भने अर्कोतिर एमाले विभाजनको असर र सिंगो गठबन्धनलाई पराजित गर्नैपर्ने बाध्यता छ । पूर्व सहकर्मी आचार्यले एकातिर एमालेकै मत काट्ने डर पनि उत्तिकै छ ।

फुत्किसकेको मेयरको टिकट प्राप्त गरेका थापाले चुनाव जितेर इतिहास लेखाउँछन् कि एमालेको विरासत गुमाउँछन्, पोखरामा यसै भन्न सकिने स्थिति छैन । तर, सांसदबाट राजिनामा दिएर उम्मेदवार बनेका थापा भने पहिलेभन्दा धेरै मतान्तरले जित्ने दाबी गर्छन् ।

‘पोखरा म जन्मेको जन्मघर हो । एउटा सपना थियो, पोखरामा । मैले संसारका दर्जनौं मुलुक पुगेर ५०औं सहर देख्ने, हेर्ने मौका पाएँ । म मेरो सहरलाई पनि यस्तै बनाउन पाए हुन्थ्यो भन्ने मेरो सपना हो’ थापा भन्छन्, ‘२०५४ मा निर्वाचित भएर त्यही सपनालाई केही कार्यान्वयन गर्ने काम गरें । तर, थुप्रै काम बाँकी थिए । आफ्नो सपना आफैंले पूरा गर्न, आफ्नो नीति आफैंले कार्यान्वयन गर्न फेरि पोखराको मेयर बन्न लागेको हुँ ।’

नेकपा एमालेले हक्की स्वभावका नेता थापाले पोखराको मेयर बनेर धेरै सुधार गर्ने सपना देखेको छ । त्यहीअनुसार पोखरेलीलाई सपना देखाएर मत मागिरहेको छ । अघिल्लो पटक मेयर बन्दा केही नमूना कामको सुरुआत गरेका थापा उत्तिकै विवादित पनि बने ।

नगरपालिकालाई आफ्नो दलका कर्मचारी भर्तीकेन्द्र बनाएको, ढल व्यवस्थापनको नाममा फेवातालमा ढल मिसिने बनाएको, बसपार्क बनाउन नसकेको लगायत आरोप उनीमाथि छन् । २०५४ सालमा आफू अल्पमतमा परेकाले धेरै काम सुरु गरेर पनि पूरा गर्न नसकेको भन्दै अब पूरा गर्न मेयर बन्न लागेको थापाको दाबी छ ।

पोखरेलीलाई देखाएको रुमानी सपना
अघिल्लो निर्वाचनमा ल्याएको घोषणापत्र मेयर मानबहादुर जिसी नेतृत्वले चटक्कै बिर्सिएको आरोप खेपेको एमालेले कृष्ण थापालाई मत माग्न महत्वाकांक्षी योजनासहित अर्को घोषणापत्र ल्याएको छ । अघिल्लो निर्वाचनमा स्मार्ट सिटीको नारा अत्यधिक लागेको थियो । त्योबाहेक १५ पेजबाट २० पेज बनेको घोषणापत्रमा अधिकांश योजना र कार्यक्रम पुरानै छन् ।

मोनोरेल, मेट्रोरेल योजनादेखि फ्लाइओभर ब्रिज, सुरुङ, ओभरहेड ब्रिजलगायत योजना अहिलेको घोषणापत्रमा छ । महानगरमा पर्ने मध्य पहाडी लोकमार्ग खण्डलाई छिटो निर्माण गर्न, केरुङ, काठमाडौंै हुँदै पोखरा लुम्बिनीसम्म रेलमार्ग सञ्चालन र कोरला भैंसालोटन नाका हुँदै अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्न प्रादेशिक तथा संघीय सरकारसँग सहकार्य गर्ने घोषणापत्रमा छन् ।

पोखरा ३२ लामेआहालबाट ३३ को बाघमारा दोबिल्ला हुँदै विरौटासम्मको वैकल्पिक मार्ग योजनालाई पनि एमालेले दोहोर्‍याएको छ । हाल निर्माणाधीन उक्त सडकको स्तरोन्नति गर्ने र लामगादी, पटनेरी, रिठेपानी, भेडीफारम, ढुंगेसाँघु जोड्ने सडकलाई महानगरको गौैरवका योजनाअन्तर्गत निर्माण गर्ने एमालेले घोषणा गरेको हो ।

पोखरामा विद्यमान सुकुम्बासी समस्या समाधान गर्न एकीकृत बस्ती बनाउने योजना पुनः दोहोर्‍याएको छ । घरजग्गा धनी पुर्जा अद्यावधिक गर्ने, वितरण कार्य नागरिकका घरदैलोमै पुर्‍याउनुका साथै विगतमा सुकुम्बासी आयोगबाट वितरित सेतो पुर्जालाई रातोमा परिणत गर्ने घोषणा एमालेको छ ।

बिजुलीको तार ग्राउन्डेड गर्न सुरु भएको र द्रुत गतिमा अघि बढाउने एमालेको घोषणापत्रमा छ । सेती, हर्पन, मर्दी, काली, याम्दी, फुर्से, विजयपुर लगायत खोला, दोभान आदिमा आवश्यकता अनुसार पुल, पुलेसा र कज्वे बनाउने योजना एमालेले दोहोर्‍याएको छ । एमालेले महानगरमा उच्चगतिको इन्टरनेट, स्वास्थ्य बीमा, फुटपाथ तथा साना पसल नियमन तथा व्यवस्थापन, गण्डकीका विभिन्न धर्म, संस्कृतिका लागि बहुसांस्कृतिक ग्राम निर्माण, महानगर चक्रपथ निर्माण लगायत काम गर्ने एमालेको प्रतिबद्धता छ । यो घोषणपत्रले पोखरेलीको कत्तिको मत तान्छ, त्यो नतिजाले नै देखाउला ।

को हुन् कृष्ण थापा ?
१६ चैत २०१६ मा पोखराकै बाटुलेचौरमा जन्मिएका कृष्ण थापाले २०४१ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका हुन् । शिक्षा संकायका स्नातक उनी सीएमए (कम्युनिटी मेडिकल असिस्टेन्ट) पनि हुन् ।

२०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका उनी २०३७ मा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको सदस्य र २०३९ मा चिकित्सा शास्त्र अध्ययन संस्थान, सुर्खेतको स्ववियु सह–सचिव भए ।

२०४० मा अखिल नेपाल चिकित्सा सहायक संघको संस्थापक सचिव भएका थापा २०४१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सदस्य निर्वाचित भए । त्यही साल नेकपा (माले)को सदस्यता पाएका उनी अनेरास्ववियु कास्कीको अध्यक्ष पनि चुनिए ।

२०४३ सालको पंचायती निर्वाचनमा मालेको जनपक्षीय चुनाव परिचालन कमिटी संयोजक बनेका थापा मंसिरमा पक्राउ परेर राजकाज मुद्दामा २०४६ पुससम्म जेल परे ।

जेलबाट छुटेलगत्तै वाम मोर्चा, गण्डकीको जनआन्दोलन परिचालन कमिटी सदस्य भए । आन्दोलन सफल भएपछि दुई वर्ष अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य र २०४९ सालमा नेकपा (एमाले) कास्की जिल्ला कमिटी सचिवालय सदस्य बने ।

२०५२ मा एमालेको प्रथम नगर अधिवेशनमा सचिव चुनिएका थापा २०५४ मा पोखरा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

२०६५ सालमा एमाले कास्कीको सचिव र २०७० मा अध्यक्ष निर्वाचित भएका थापाले त्यसबीचमा उपत्यका नगर विकासको अध्यक्ष, राष्ट्रिय ताल समिति सदस्य र नेपाल नगरपालिका संघको केन्द्रीय सचिवालय सदस्यका रूपमा पनि काम गरे ।

अनुकूलता–प्रतिकूलता

अघिल्लो स्थानीय निर्वाचनमा पोखरामा एमालेले नेपाली कांग्रेसलाई करिब १४ हजार मतान्तरले जितेको थियो । मेयर, उपमेयरसहित पोखराका ३३ वडामध्ये २२ वडामा एमाले र ११ वटामा कांग्रेसले जितेको थियो ।

एमालेका उम्मेदवार मानबहादुर जिसी ६० हजार ११८ मतका साथ मेयरमा विजयी भएका थिए । कांग्रेसका उम्मेदवार रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए ।

मेयरमा कांग्रेसलाई सघाएर उपमेयरमा उम्मेदवारी दिएको नेकपा (माओवादी केन्द्र)की गोमा ढकालले ८ हजार ७९६ मत ल्याएकी थिइन् ।

यसपालि पोखरामा मतदाता संख्या २ लाख ७१२ पुगेको छ । यीमध्ये ३९ हजार ६०० नयाँ मतदाता हुन् । यिनै नयाँ मतदाताको छनोट र एकीकृत समाजवादीले एमालेबाट काट्ने मतले थापाको विजय–पराजय तय हुनेछ ।

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]