मीनाकुमारी लामा

महिला, ४५ बर्ष
२३,०८० मत विजयी
उम्मेदवारी : मेयर


२०३३ साल पुसमा हेटौंडाको नवलपुरमा जन्मिएकी मीनाकुमारी लामाले गाउँकै त्रिभुवन माविबाट एसएलसी, मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर र हरि खेतान बहुमुखी क्याम्पस, वीरगञ्जबाट एलएलबी उत्तीर्ण गरिन् ।

२०५२ सालमा अनेरास्ववियुको मकवानपुर जिल्ला कोषाध्यक्ष बनेकी उनको २०५४ मा विवाह भयो । पारिवारिक सहयोगबाट उनले पारिवारिक जीवनसँगै अध्ययन र राजनीतिलाई राम्ररी अगाडि बढाउन सकिन् ।

त्यही क्रममा उनी २०७१ सालमा तत्कालीन नेकपा (एमाले) मकवानपुरको उप–सचिव, अखिल नेपाल महिला संघ, मकवानपुरको सचिव र विद्यार्थी इन्चार्ज बनिन् ।

अर्को वर्ष पार्टीको आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य र मकवानपुर जिल्ला समन्वय समिति उपाध्यक्षको जिम्मेवारी पाइन् । गत स्थानीय तह चुनावमा भारी मतले हेटौंडा उपमहानगरपालिकाको उपप्रमुख निर्वाचित उनी यस पटक मेयरको उम्मेदवार बनेकी छिन् ।

एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)को तर्फबाट मेयरमा प्रत्यासी लामालाई पाँचदलीय गठबन्धनको समर्थन छ । एकीकृत समाजवादीको मकवानपुर उपाध्यक्ष रहेकी उनलाई उपप्रमुख हुँदाको अनुभवले मेयर बने प्रभावकारी काम गर्न सक्छु भन्ने आत्मविश्वास छ ।

‘हेटौंडामा मैले जित्नु भनेको सबै उपमहानगरका दिदीबहिनीले जित्नु हो, दाजुभाइको चेलीले जित्नु हो’ लामा भन्छिन्, ‘विजयीपछि गठबन्धनका तर्फबाट गरिएका बाचाहरू पूरा गर्नेछु, सल्लाह र सहमतिमा अघि बढ्नेछु ।’

गत निर्वाचनमा हेटौंडाको मेयरमा नेकपा (एमाले)का हरिबहादुर महत २३ हजार १२४ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत पाएका थिए ।

अहिले एमाले फुटेको अवस्थामा अघिल्लो चुनावको मत परिणाम लामाको लागि अनुकूल हुने देखिन्छ । गठबन्धनको सहयोग र एमालेको मत काट्दै विजयी हुने उनको रणनीति छ ।

गठबन्धनभित्रको असन्तुष्टि र कांग्रेसको मत सुरक्षा गर्ने चुनौती भने उनका प्रतिकूलता हुन् ।

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]