अनन्‍तप्रसाद पौडेल

पुरुष, ५९ बर्ष
२०,९०८ मत
उम्मेदवारी : मेयर

२०१९ सालमा मकवानपुरको भीमफेदीमा जन्मिएका अनन्त पौडेलले चारदशक लामो संघर्षमय राजनीतिक बाटो तय गरेका छन् । २०३५ सालमा तत्कालीन नेकपा (माले)मा जोडिएर २०७९ सम्म आइपुग्दा उनले थुप्रै उबडखाबड झेल्नुपर्‍यो । विद्यार्थी आन्दोलनको क्रममा पटक–पटक गिरफ्तार भएर कष्टपूर्ण जेलजीवन भोगे ।

२०३६ सालको विद्यार्थी आन्दोलनपछि पौडेललाई पार्टीले २०३८ मा अखिलको मकवानपुर जिल्ला कोषाध्यक्षको जिम्मेवारी दियो । २०३९ सालमा सचिव र २०४० मा जिल्ला अध्यक्ष बने उनी ।

२०४१ सालको विद्यार्थी आन्दोलनमा फेरि जेल परे पौडेल । जेलमुक्त भएपछि २०४३ मा उनी मालेको हेटौंडा नगर कमिटी सचिव र २०४४ मा जिल्ला कमिटी सदस्य बने ।

२०४७ देखि २०५१ सम्म नेकपा (एमाले)को मकवानपुर जिल्ला संयोजक भए । २०५१ मा सुकुम्बासी समस्या समाधान आयोग मकवानपुरको अध्यक्षको जिम्मेवारी पाए । त्यसपछि २०५४ देखि २०६९ सम्म एमालेको नारायणी अञ्चल कमिटी सचिव रहे । 

२०६४ सालको संविधानसभा निर्वाचनमा पराजित भएका उनी २०७० मा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–३ बाट विजयी भएर संविधान निर्माण प्रक्रियामा भूमिका खेले । एमालेले उनलाई यसपटक हेटौंडा उपमहानगरपालिकाको मेयरमा उठाएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन विभाग सदस्य समेत रहेका पौडेल शहीद स्मारक विकास समितिको सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष, मध्य नेपाल पर्यटन विकास समितिको संयोजक, भुटनदेवी मावि र प्रगति माविको सल्लाहकारलगायत दर्जनौं जिम्मेवारीमा छन् ।

बि.कम.सम्मको अध्ययन गरेका अनन्त पौडेल हेटौंडालाई समृद्ध उपमहानगर बनाउने योजनाका साथ आफू अगाडि आएको बताउँछन् ।

गत निर्वाचनमा एमालेका हरिबहादुर महत २३ हजार १२४ मतका साथ हेटौंडाको मेयर निर्वाचित भएका थिए । नेपाली कांग्रेसका आनन्दराम पराजुली २२ हजार ५०९ मत ल्याएर निकटतम् प्रतिद्वन्द्वी बनेका थिए ।

यो चुनावी अंकगणितले पौडेललाई सहज हुने देखिन्छ । तर, यसपटक एमाले फुटेको छ । र, अघिल्लो पटक एमालेलाई सघाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि फुटको सिकार भएको छ ।

अर्कोतिर एमाले विरुद्ध पाँचदलीय गठबन्धन चुनावी मैदानमा छ । मेयरमा गठबन्धनको साझा उम्मेदवार एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी) की मीना लामा छिन् ।

एकीकृत समाजवादीका नेता विरोध खतिवडाको गृहजिल्ला मकवानपुरको हेटौंडामा एमालेका उम्मेदवार पौडेललाई सहजता भन्दा प्रतिकूलता बढी देखिन्छ ।  

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]