चिरीबाबु महर्जन

पुरुष, ६५ बर्ष
४२,७२२ मत विजयी
उम्मेदवारी : मेयर
ललितपुर महानगरपालिका, बागमती प्रदेश

चिरिबाबु महर्जन केवल चार वर्षको हुँदा उनको बुवा न्हुच्छेलालको निधन भयो । २०१४ मंसिर १६ गते जन्मिएका चिरिबाबुसहित ६ सन्तानलाई आमा हरिमायाले पुल्चोक र धोबीघाट आसपासमा अर्काको जग्गा कमाउँदै हुर्काइन् ।

अभावको बीचमा पढाइ-लेखाइ मुश्किल थियो । चिरिबाबुले ज्यामी काम गरेर अध्ययनलाई अगाडि बढाए । अरूको खेतमा उब्जाएको बालीले खान त पुग्थ्यो, तर लेखपढ लगायत खर्चको ठूलो अभाव हुन्थ्यो ।

कक्षा ६ पछि चिरिबाबुलाई पढाइ जारी राख्न बडो मुश्किल भयो । अन्नपात बेचेर खर्च जुटाउने आमाको प्रयास असफल भयो । मासिक शुल्क २ रुपैयाँ ३९ पैसा तिर्न नसकेपछि चिरिबाबु ज्यामी काम गर्न बाध्य बने ।

ज्यामी पेशाले बदलेको जिन्दगी

ठेकेदार भिनाजु दीपक महर्जनको पछि लागेर घर बनाउने काममा खटिन थालेका चिरिबाबु एक दिन ज्ञानोदय बालबाटिकाकी संस्थापक इन्दिरा याक्थुम्बाको नजरमा परे ।

चिरिबाबुको निर्दोष बालापनले याक्थुम्बालाई यसरी तान्यो कि उनले परिवारबारे निकै सोधखोज गरेर कक्षा १० सम्म पढाउने निर्णय सुनाइन् । चिरिबाबुलाई 'तँ चिता, म पुर्‍याइदिन्छु' भन्ने भगवानसँग भेट भएजस्तो भयो ।

त्यसरी कक्षा कोठा र्फकन पाएका चिरिबाबु त्रिपद्म माविमा १० कक्षासम्म सधैं प्रथम भए । २०३१ सालमा राम्रो अंकका साथ एसएलसी उत्तीर्ण गरेपछि राष्ट्रिय शिक्षा समितिमा खरिदारको जागिर खाँदै उच्च शिक्षा आर्जनमा लागे ।

उनले पब्लिक युथ क्याम्पसबाट आइकम, पाटन क्याम्पसबाट बिकम र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट २०४२ सालमा एमकम गरे । उनको सामाजिक-राजनीतिक सक्रियता भने कक्षा १० को विद्यार्थी रहँदा नै सुरु भइसकेको थियो ।

२०७४ सालमा ललितपुरको मेयर बन्नुअघि उनी तीन पटक वडाअध्यक्ष निर्वाचित भएका थिए ।

कांग्रेससँगको 'कनेक्सन'

चिरिबाबु महर्जन लामो समयसम्म कुनै दलमा आवद्ध नभई सामाजिक-राजनीतिक काममा लागे । २०४६ सालको जनआन्दोलनलाई समर्थन गर्दै पंचायती व्यवस्थाको वडाअध्यक्षबाट राजिनामा दिएका उनले २०४७ मा नेपाली कांग्रेसको सदस्यता लिए । २०४९ को स्थानीय निकाय निर्वाचनमा कांग्रेसबाटै वडा नं. २ को वडाअध्यक्ष निर्वाचित भए ।

२०५९ सालमा स्थापित ज्यापु समाजका संस्थापक अध्यक्ष हुन्, चिरिबाबु महर्जन । त्यो पहलकदमीले पनि उनलाई गत निर्वाचनमा ललितपुरको मेयरमा विजयी बन्न महत्वपूर्ण सघाउ पुर्‍यायो । उनले नेकपा -एमाले) का हरिकृष्ण व्यञ्जनकारलाई ३२६ मतले पछि पारेका थिए ।

अनुकूलता-प्रतिकूलता

ललितपुरमा गत स्थानीय निर्वाचनमा कांग्रेस एक्लै र एमाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग तालमेल गरेर लडेको थियो । लोकपि्रय उम्मेदवार उठाएर ठूला दलहरूलाई चुनौती दिएको विवेकशील साझा पार्टीका रमेश महर्जनले १३ हजार ४५८ र माओवादी केन्द्रका दिनेश महर्जन -दीपेश) ले १० हजार ६६१ मत पाएका थिए ।

मेयरमा खास प्रतिस्पर्धा भने कांग्रेसका चिरिबाबु महर्जन र एमालेका हरिकृष्ण व्यञ्जनकारबीच भएको थियो । २४ हजार ६४२ मत पाएका महर्जनबाट व्यञ्जनकार जम्मा ३२६ मतले पराजित भएका थिए ।

अहिले कांग्रेस र माओवादी केन्द्रको गठबन्धन बनेको छ भने विवेकशील साझा र एमाले दुवै फुटेका छन् । एमालेबाट फुटेको नेकपा (एकीकृत समाजवादी)ले कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ ।

अघिल्लो स्थानीय चुनावमा चार वटा वडा जितेको माओवादीको कुल मत १४ हजार ५४६ थियो । त्यसमा कांग्रेसको मत जोड्दा एमालेको भन्दा मेयरमा ११ हजार ७६६ बढी पुग्छ । मेयरमा एमालेका उम्मेदवार व्यञ्जनकारले पाएको मतमा राप्रपाबाट पाएको करिब ३ हजार ५०० छ ।

अब एमालेले माओवादीबाट आएका नेता रामबहादुर थापा बादल समूहका कारण केही भोट थपे पनि एकीकृत समाजवादीले काट्ने मत त्योभन्दा बढी हुनसक्छ । यसले चिरिबाबु महर्जनको लागि अनुकूलता बढाएको देखिन्छ ।

गत निर्वाचनमा एक रहेको राप्रपा पनि अहिले विभाजित छ । कमल थापा नेतृत्वको समूहले एमालेलाई सघाउने भएको छ, तर त्यताबाट आउने मत परिणामलाई प्रभावित गर्ने खालको हुने छैन ।

ललितपुरमा थपिएका ९ हजार ९६८ सहित १ लाख २२ हजार ८९० मतदाता पुगेका छन् । दल विभाजनको अवस्था र नयाँ मतदाताको रुझान दुवै अपरिक्षित छ । पुराना मतदाताले पनि नयाँ राजनीतिक माहोलमा निर्णय बदल्न सक्छन् ।

समग्रमा, चिरिबाबु महर्जन अघिल्लो पटकभन्दा बढी अनुकूलता भएको चुनावी मैदानमा देखिन्छन् ।

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]