उज्वलकृष्ण श्रेष्ठ

पुरुष, ५० बर्ष
१,८५८ मत
उम्मेदवारी : मेयर
ललितपुर महानगरपालिका, बागमती प्रदेश

विवेकशील साझा पार्टीबाट ललितपुर महानगरमा मेयरका प्रत्यासी उज्ज्वलकृष्ण श्रेष्ठ राजनीतिभन्दा धेरै व्यावसायिक र सामाजिक काममा क्रियाशील थिए ।

ललितपुरकै अरनिको उच्च माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेका श्रेष्ठले नेपाल कमर्श क्याम्पसबाट उच्च शिक्षा लिए । विभिन्न चार व्यावसायिक कम्पनीमा स्वामित्व रहेका उनी ललितपुर चेम्बर अफ कमर्सको अन्तर्राष्ट्रिय प्रदर्शन कमिटीको पूर्वसंयोजक पनि हुन् ।

व्यवसायसँगै उनी सामाजिक जिम्मेवारीहरूमा पनि छन् । ललितपुर ब्याडमिन्टन एसोसिएसन, नेवा एकता समाज र सातदोबाटो युवा क्लबका सल्लाहकार रहेका उनी पाटन जेसिसका पूर्व अध्यक्ष हुन् । उनी नेपाल बुटिक एसोसिएसनका संस्थापक सभापति पनि हुन् ।

वैकल्पिक राजनीतिमा रुचि राखेका श्रेष्ठले २०७४ को आम निर्वाचनमा ललितपुर–३ बाट व्यवस्थापिका संसद सदस्यमा उम्मेदवारी दिएका थिए । हाल विवेकशील साझा पार्टीका ललितपुर संयोजक छन् ।

नेपालमा ठूला दलहरूले पटक–पटक अवसर पाएर पनि जनहितमा काम गर्न नसकेको कारण आफू राजनीतिमा आउनु परेको उनको तर्क छ । ‘हामी ललितपुर महानगरलाई व्यवस्थित पार्न चाहन्छौं, जसरी भारतमा केजरीवालले गरेका छन्’ उनी भन्छन्, ‘एक अर्ब बजेट कार्यान्वयन हुँदा ७०–८० करोड भ्रष्टाचार हुन्छ । भ्रष्टाचार रोकेर त्यो रकमबाट नागरिकलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ ।’

गत निर्वाचनमा भन्दा अहिले पार्टीको संरचना फैलिएको र पुरानो राजनीतिप्रति निराशा पनि थपिएको सन्दर्भमा आफ्नो पक्षमा मत आउने उनको तर्क छ । उनले प्रतिनिधिसभा निर्वाचनमा ललितपुर–३ मा ८ हजार भोट ल्याएका थिए । अहिले थपिएको नयाँ मतदाता संख्याले अझ आशावादी बनाएको उनले बताए ।

 यद्यपि, साझा पार्टीको टुटफुट र भद्रगोलका बीचमा चुनावी माहोल उनले भनेजति अनुकूल अवश्य छैन ।

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]