रामेश्‍वर श्रेष्ठ

पुरुष, ५१ बर्ष
२३,८०६ मत
उम्मेदवारी : उप मेयर

सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको उपप्रमुखका साझा उम्मेदवार हुन्, रामेश्वर श्रेष्ठ । सुरुमा उम्मेदवारको भीडमा कतै हराइरहेको जस्तो देखिएका श्रेष्ठ पनि पछिल्लो समय ‘भिजिबल’ हुन थालेका छन् ।

२०४६ सालदेखि कम्युनिस्ट राजनीतिमा क्रियाशील श्रेष्ठ २०४७ सालमा केपी शर्मा ओली अध्यक्ष रहेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको काठमाडौं १२ वडाको अध्यक्ष बनेका थिए । उनी एमाले जिल्ला कमिटी सदस्य हुँदै पछिल्लो समय प्रदेश कमिटी सदस्य भएका थिए । युवा राजनीतिमा सक्रिय उनी एमालेको युवा संघको सचिवालय सदस्यका साथै युथफोर्स भ्याली इञ्चार्जको जिम्मेवारीमा पनि थिए ।

नेकपा एकीकृत समाजवादी पार्टीको काठमाडौं महानगर कमिटीका अध्यक्ष समेत रहेका श्रेष्ठ राजनीतिमा नयाँ अनुहार भने होइनन् । उनी पार्टीभित्र उपमेयरका धेरै प्रत्यासीलाई पाखा लगाउँदै टिकट हात पार्न सफल भए । उनी अगाडि बढ्दा काठमाडौं महानगरका प्रवक्ता समेत रहेका ईश्वरमान डंगोल र ७ को वडाध्यक्ष रहेका शुद्ध डंगोलपछि परे ।

‘गतिशील, जनताको पहुँचमा रहने, जनताकै काम गर्न रुचि राख्ने’ उनको विशेषताको मूल्यांकन गर्दै पार्टीले उनलाई उपमेयरको उम्मेदवार बनाएको पार्टीका शीर्ष नेताहरू बताउँछन् ।

आफ्नो प्रतिस्पर्धी बनेकी सुनिता डंगोललाई भन्दा एमाले पंक्तिले आफैंलाई मत दिने उनको बुझाइ छ । एमालेको मत तान्ने तथा गठबन्धनको मत सुनिश्चित गर्दै विजय निकाल्ने उनको योजना छ ।

उपप्रमुखका उम्मेदवारहरूमध्ये चर्चामा रहेकी डंगोललाई हराएर जित निकाल्नु उनका लागि चुनौती छ । यद्यपि श्रेष्ठ गठबन्धनको शक्ति र एजेन्डाका कारण आफूले जित्ने दाबी गर्छन् । ‘मेरो जितको पहिलो आधार पाँचदलीय गठबन्धन हो’ श्रेष्ठ भन्छन्, ‘अर्को कुरा, मैले पेश गरेको कार्ययोजना पनि हो ।’

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]