सिर्जना श्रेष्ठ

महिला, ५९ बर्ष
३८,३४१ मत
उम्मेदवारी : मेयर

नेपाली राजनीतिमा लौहपुरुषको उपाधि पाएका नेता गणेशमान सिंहको परिवारको सदस्य हुन् सिर्जना सिंह । गोरखा बजारमा जन्मिएकी उनी २०४२ सालमा गणेशमानका छोरा प्रकाशमान सिंहसँग विवाह गरेर सिंह परिवारमा प्रवेश गरेकी हुन् ।

उनले सासू मंगलादेवी सिंहको विरासत पछ्याउँदै नेपाल महिला संघको राजनीतिमा जोडिइन् । उनको राजनीतिक संघर्षको यात्रा भने गोरखाबाटै सुरु गरेकी थिइन् । २०३३ सालमा नेपाली कांग्रेसको सदस्यता पाएकी उनी २०३६ मा गोरखा जिल्ला महिला संघकी सभापति बनेकी थिइन् ।

२०३५ देखि २०३८ सालसम्म महाबौद्ध क्याम्पसको इकाइ सभापति बनिन् । बीपी कोइरालाको स्वास्थ्य उपचारका लागि चन्दा संकलन गर्ने क्रममा २०३७ सालमा उनी गिरफ्तारीमा परेकी थिइन् । महिलाका तर्फबाट २०३६ सालमा बहुदलीय प्रचार प्रसार समितिको गोरखा जिल्ला अध्यक्ष बनिन् ।

२०३९ सालमा सिर्जना सिंह शंकरदेव क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित भइन् । त्योबेला हालकी ऊर्जामन्त्री पम्फा भुसाल उनको प्रतिद्वन्द्वी थिइन् । पछि उनले त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरिन् ।

नेपालको एक सुप्रसिद्ध राजनीतिक परिवारमा भित्रिएपछि उनको राजनीतिक सक्रियता घट्यो । परिवारका सबै राजनीतिमा थिए । विवाह पश्चात् आफ्नो भने सक्रिय राजनीतिमा कमी आएको सिंह स्वीकार गर्छिन् ।

ससुरा गणेशमान सिंह, सासू मंगलादेवी सिंह र पति प्रकाशमान सिंहलाई पञ्चायती व्यवस्था विरुद्वको आन्दोलनमा अधिकतम समय दिन सक्ने पारिवारिक वातावरण आफूले बनाएको उनी बताउँछिन् । आफू चाहिं महिला संघको सल्लाहकारको रूपमा राजनीतिमा जोडिइरहेको उनले प्रष्टोक्ति छ ।

‘जनआन्दोलन सफल भइसकेपछि महिला संघको माध्यमबाट धेरै ठाउँमा हेल्थ क्याम्प सञ्चालन गरें’ उनी भन्छिन्, ‘सशक्तीकरणमार्फत महिलालाई आत्मनिर्भर बनाउन थुप्रै काम गरेँ । महिला संघको स्वास्थ्य संयोजक भएर २०५३ सालसम्म काम गरिरहें ।’

उनी २०५४ सालदेखि निरन्तर महिला संघ, काठमाडौं जिल्ला समितिको सल्लाहकार छिन् । कांग्रेसको ११औं महाधिवेशनमा प्रतिनिधि बनेकी सिंह १२औं र १३औं महाधिवेशनमा प्रतिनिधि भइनन् । १४औं महाधिवेशनमा भने काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भइन् ।

विरासतको राजनीति

काठमाडौंको मेयरमा टिकट पाउनुमा सिंह परिवारको सदस्य मात्र नभएर आफ्नै राजनीतिक योगदानको पनि भूमिका भएको उनको तर्क छ । उनी भन्छिन्, ‘यो देशमा प्रजातन्त्र ल्याउन, महिलाहरुको उत्थान गर्न मैले संघर्ष गरेकी छु ।’

उनको तर्क जेजस्तो भए पनि पछिल्ला दशकहरूमा दक्षिण एसियामा विरासतको राजनीति अप्ठ्यारोमा छ । भारतमा विरासतको राजनीति निरन्तर कमजोर बनिरहेको छ । यो प्रतिकूलताको परीक्षामा सिंहले आफूलाई उभ्याउनु पर्नेछ ।

‘मलाई भोट दिनुस्, यहाँहरुले सोचेको, खोजेको जस्तै काठमाडौं म बनाउँछु । स्वच्छ हराभरा काठमाडौं बनाउँछु, सामाजिक सुरक्षा दिन्छु । मेरो नाम आफ्नो कर्मले देखाउँछु-चिनाउँछु,’ उनको प्रतिबद्धता छ । विश्व सम्पदा सूचिमा परेको यस सहरलाई पर्यटकीय गन्तव्यको स्थल बनाउने योजना सिंहको छ ।

गत निर्वाचनको अंकगणित पनि उनका लागि प्रतिकूल देखिन्छ, जसमा एमालेका प्रत्यासीले ६४ हजार ९१३ मत ल्याउँदा कांग्रेस नेतृत्वको गठबन्धन झण्डै १० हजार मतले पछाडि परेको थियो ।

एमाले र राप्रपा विभाजनले भने उनलाई केही राहत दिन सक्छ । साथमा, स्वतन्त्र उम्मेदवार बालेन शाह र विवेकशील साझा पार्टीकी उम्मेदवार समीक्षा बास्कोटाले ल्याउने मतको आकारले पनि उनको विजय–पराजयलाई प्रभावित गर्नेछ ।

 

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]