मदनदास श्रेष्ठ

पुरुष, ७३ बर्ष
५,७७० मत

काठमाडौं । रेडियो, रंगमञ्च र फिल्ममा स्थापित नाम हो मदनदास श्रेष्ठ । नेपालमा रेडियो नाटकलाई आकार दिने श्रेय उनैलाई जान्छ । श्यामदास वैष्णव र हरिप्रसाद रिमालपछि उनी तेस्रो रेडियो नाटक निर्देशक हुन् ।

२०२१ मा उनले राष्ट्रिय नाचघरमा ‘धनबहादुरको मृत्युमा परिवारको आँसु’ नामक नाटकमा अभिनय गरेका थिए । उनको नाटकबाट प्रभावित
भएर वैष्णवले मदनदासलाई रेडियो नेपालमा जागिर दिलाएका थिए ।

संघर्षकालीन समयमा रेडियो नेपाल बाहिरै बसेर १४ वर्ष नाटक गरेका उनले ०३५ मा त्यहीँ जागिर पाए । कार्यक्रम उत्पादकको रूपमा उनी रेडियो नेपालमा प्रवेश गरेका थिए ।

उनको पहिलो रेडियो नाटक ‘धमिरा’ हो । वर्ष २०४३ सालबाट भने उनले नाटक निर्देशन गर्न थाले । मुलुकमा रेडियो नाटकको बाढी आउँदा त्यसको काँध उनैले थामेका थिए । उनी आफैंले धार्मिक नाटक श्रीस्वस्थानीदेखि धारावाहिक रेडियो नाटकको रूपमा गणेशमानको जीवनीसम्म बनाए ।
उनलाई लाग्छ– ‘आज रेडियो धेरै छन्, तर रेडियो नाटक शून्यप्रायः छन् ।’

दोलखाको भीमेश्वर नगरपालिकामा जन्मिएका मदनदासलाई कलाकार बन्ने सपनाले डो¥याउँदै काठमाडौं ल्याइपु¥यायो । ३७ वर्षअघि ‘के घर के डेरा’ फिल्ममा अभिनय गरेसँगै उनको फिल्म करिअर पनि सुरु भयो ।

पच्चीस बसन्त, तिलहरि, चेलीबेटी, कन्यादान, युगदेखि युगसम्म, कस्तुरी, परिवार, मनकामनासहित दुई दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेका मदनदासको पछिल्लो फिल्म ‘कीर्तिपुर ः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ हो ।

७४ वर्षीय अभिनेता तथा नाट्यकर्मी श्रेष्ठको जोश र सक्रियता अझै घटेको छैन । उनी पछिल्लो समय दोलखामा फिल्म सिटी स्थापना गर्ने सरकारी अभियानमा सहभागी छन् । सरकारले अहिले दोलखाको लाकुरीडाँडामा फिल्म सिटी निर्माण गरिरहेको छ र उनी त्यसमै सक्रिय छन् । फिल्म सिटी स्थापनालाई आवश्यक पर्ने जग्गादेखि कानुनी व्यवस्थापन समेत उनकै नेतृत्वमा भइरहेको छ ।

चर्चित रेडियो आरजे तथा अभिनेता रेमनदास श्रेष्ठका पिता समेत रहेका मदनदास अन्य केही फिल्ममार्फत अभिनय यात्रालाई अघि बढाउने तयारीमा समेत छन् ।

कलाकारिताको लम्बे यात्राबाट पहिचान बनाएका श्रेष्ठ स्थानीय चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौंको मेयर प्रत्यासी बनेका छन् । कलाकारिताबाट कमाएको प्रख्यातीलाई मतमा बदल्न चुनौतीपूर्ण बाटो श्रेष्ठले समातेका छन् ।

२०७४ को स्थानीय निर्वाचनमा राप्रपाले एमालेसँगको तालेमलमा राम्रै मत प्राप्त गरेका थिए । यसपटक पार्टी विभाजन भएको छ र कमल थापाले राप्रपा नेपाल नामक नयाँ पार्टी बनाएका छन् । थापा नेतृत्वको पार्टीले नेकपा एमालेका उम्मेदवारलाई सघाउने निर्णय गरिसकेको छ । कलाकारिताबाट बनाएको पहिचान र राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनको उक्लिँदो प्रख्यातीको बलमा यसपटक सम्मानजनक मत ल्याउन श्रेष्ठले चुनावी मैदानमा संघर्ष गर्नेछन् ।

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]