सरस्वती देवी चौधरी

महिला, ४२ बर्ष
१७,७७९ मत
उम्मेदवारी : मेयर

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको मेयर बन्ने दौडमा रहेकी सरस्वतीदेवी चौधरी ‘परीक्षित’ जनप्रतिनिधि हुन् ।

चौधरीले २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उपप्रमुख जितेर जनप्रतिनिधिको अनुभव सम्हालिसकेकी छिन् । त्यही अनुभवको बलमा जीतपुर सिमरा उपमहानगरको प्रमुख बन्ने होडमा छिन् अहिले उनी ।

निडर स्वभावकी चौधरी जीतपुर सिमरा उपमहानगरपालिकामा मधेश प्रदेशबाट पहिलो महिला मेयर बनेर इतिहास रच्ने दाउमा छिन् ।

चुनावी मैदानमा उनको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका राजन पौडेल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सञ्जय साह छन् । माओवादीबाट मेयरको उम्मेदवार बनेका पौडेललाई नेपाली कांग्रेसले समर्थन गरेको छ । लोसपाबाट चुनावी मैदानमा रहेका साह जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पनि हुन् ।

यो जीतपुर सिमरा थारू र मधेशी समुदायको बाहुल्य रहेको स्थानीय तह पनि हो । यो समुदायको भोट तान्न सक्ने विश्वासका साथ चौधरीलाई एमालेले अघि सारेको हो । उपप्रमुख पदमा रहँदा अघिल्लो कार्यकालमा महिलालाई प्राथमिकतामा राखेर काम गरेकोले पनि महिलाको भोट आफूले पाउने विश्वास चौधरीको छ ।

केन्द्रबाट गरिएको गठबन्धनप्रति जीतपुर सिमरामा कांग्रेसभित्रै असन्तुष्टि छ । यसको फाइदा चौधरीले लिने विश्वास एमालेको छ ।

गत निर्वाचनमा नेकपा एमालेका कृष्णप्रसाद पौडेलले १४ हजार ८६५ मत ल्याएर विजय हासिल गर्दा कांग्रेसका उम्मेदवार कृष्णवर्त सिंहले ११ हजार ९९५ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बनेका थिए । जितका लागि २ हजार ८७० को फराकिलो मतान्तर रहे पनि यसपटक कांग्रेस र माओवादीको गठबन्धन र पार्टी विभाजनले एमाले उम्मेदवारलाई उल्लेख्य प्रतिकूलता थपिएको छ ।

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]