लालकिशोर साह

पुरुष, ६३ बर्ष
५,१९४ मत

जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह जनकपुरका पेशेवर राजनीतिकर्मी हुन् । कलेज जीवनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) जनकपुरकै रामसागर रामस्वरुप (रारा) बहुमुखी क्याम्पसको स्ववियू सभापति भइसकेका उनले २०४९ सालको स्थानीय निकाय निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिंदा उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए ।

२०५४ सालको स्थानीय निर्वाचनमा मेयरमा उठेर हारेका साह २०७४ मा भने भारी मतले जनकपुरधामको मेयरमा विजयी भए । त्यसबेला उनी राजेन्द्र महतोको सद्भावना पार्टीसहित मधेशकेन्द्रित ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) को तर्फबाट मेयरमा उठेका थिए ।

२०७४ मा २१ हजार ९०३ मतका साथ निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोज साह (११ हजार १६४ मत)लाई हराएका लालकिशोर साह जनकपुरको मेयरमा दोस्रो कार्यकालका लागि जनता समाजवादी पार्टी (जसपा)बाट चुनावी मैदानमा छन् ।

उनीमाथि गत कार्यकालमा व्यक्तिगत स्वार्थपूर्तिमा केन्द्रित भएको चर्को आरोप छ । तथापि, उनी अत्यधिक मतले मेयरमा दोहोरिने दावा गर्छन् ।

‘जति सम्भव भयो, त्यति गरियो’ उनी भन्छन्, ‘जनकपुरधाम रूपान्तरण भएको सबैले देखेकै छन् । अझ राम्रो बनाउनकै लागि फेरि मेयर बन्न चाहेको हुँ, जित्छु पनि ।’

अवसरका लागि दल बदलमा माहिर उनी सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् । यो उनको सबल पक्ष हो । गठबन्धनभित्रको मुख्य दल नेपाली कांग्रेसबाट मनोज साहले दिएको स्वतन्त्र उम्मेदवारी भने लालकिशोरका लागि चुनौती बनेको छ ।

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]