मनोज चौधरी

पुरुष, ४७ बर्ष
५,३६० मत

२०७४ सालको स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर जितेको राष्ट्रिय जनता पार्टी (राजपा) अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको छ ।

यो पार्टीले यसपटक मेयरमा मनोज चौधरी र उपमेयरमा रिता मिश्रलाई उम्मेदवार बनाएको छ । लोसपाले मिश्रलाई दोहोर्‍याएर उम्मेदवार बनाएको हो ।

मेयरका उम्मेदवार चौधरी मूलतः व्यवसायी हुन् । उनी पटक–पटक जनकपुर अञ्चल बस व्यवसायी संघ र ग्याँस व्यवसायी संघका अध्यक्ष रहिसकेका छन् । उद्योग वाणिज्य संघ र पेट्रोलियम डिलर्स एसोसिएसनका सदस्यदेखि राम युवा कमिटीका निर्देशकसम्मको पद सम्हालिसकेका उनी २०७० देखि राजनीतिमा आएका हुन् ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) बाट उम्मेदवार बनेर हारेका चौधरी त्यसपछि राजपा हुँदै अहिले लोसपामा छन् ।

राजनीतिशास्त्रमा स्नातक उनी पहिलो पटक मेयर पदका प्रतिस्पर्धी बनेका हुन् । उनले मेयर हुने तयारी एक वर्षअघि नै थालेका थिए ।

‘म जुन रूपले भए पनि जनकपुरवासीकै बीचमा छु,’ चौधरी भन्छन्, ‘झुट नबोल्ने, कसैलाई कुनै किसिमको दुःख नदिने र सहयोग गर्ने भएकोले यहाँका जनताले मेयरमा मलाई नै जिताउँछन् ।’

जनताकै सम्पर्क र सल्लाहमा आफू उम्मेदवार बनेको उनी बताउँछन् । कसैलाई परेको समस्यादेखि बिहेबारीसम्मका काममा १५ वर्षदेखि जनकपुरवासीको सहयोगी बनेर काम गर्दै आएकोले मेयरमा आफ्नो जित हुने उनको दाबी छ ।

आफू जिते सबभन्दा पहिला फोहोर तह लगाउन ल्याण्डफिल साइटको व्यवस्था गर्ने उनले बताए । जनकपुरधामलाई हरियालीपूर्ण बनाउने, शिक्षा र स्वास्थ्यको स्तर उकास्ने, युवालाई खेलकुदमा अभिप्रेरित गर्ने, उद्योग र पर्यटन विस्तार गर्ने, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने लगायत प्रतिबद्धता उनले घोषणापत्रमा गरेका छन् ।

‘काम गर्न सक्ने जति मात्र बोल्छु । विगतमा पनि बोलेको जति गरेको छु,’ चौधरी भन्छन्, ‘त्यही भएर यहाँ हिजो पनि निर्वाचन चिह्न साइकलले जितेको थियो, यसपटक पनि साइकल छापले जित्छ ।’

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]