नृपबहादुर वड

पुरुष, ४९ बर्ष
१४,८१७ मत
उम्मेदवारी : मेयर
धनगढी उपमहानगरपालिका, सुदूरपश्‍चिम प्रदेश

२०२८ सालमा अछामको घुघुरकोट गाउँ पञ्चायतको दलित परिवारमा जन्मिएका नृपबहादुर वड कालान्तरमा नेपाल गणतन्त्र भएपछि धनगढी उपमहानगरपालिकाको मेयर बने । ३३ वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी अहिले सो पदमा दोहोरिने चुनावी अभियानमा छन् ।

मानविकी संकायका स्नातक वडले जीवनभर भारतमा रोजगारी गरेका बुवाले जोडेको जग्गा–जमिनको आधारमा धनगढीवासी र मेयर हुने अवसर पाएका हुन् । उनी २०३६ सालमा अछामबाट धनगढी झरेका थिए ।

राजनीतिक यात्रा

२०४६ सालमा नेपाल विद्यार्थी संघको राजनीतिमा जोडिएका वडले २०४९ मा मातृ पार्टी नेपाली कांग्रेसको क्रियाशील सदस्यता पाए ।

उनी २०५१ मा धनगढी–५ को कांग्रेस वडा सभापति र २०५७ सालमा धनगढी नगर सचिव बने । २०६२÷६३ सालको जनआन्दोलनमा ९६ दिन जेल परेका उनी माओवादी सशस्त्र द्वन्द्वका बेला धनगढी नगर समिति सभापति थिए ।

माओवादीहरूको चर्को दबावमा कांग्रेसका धेरै नेता–कार्यकर्ता पलायन भएको द्वन्द्वकालमा वडले धनगढीमा कांग्रेसको नेतृत्व गरिरहे । नगर समिति सभापति रहेकै बेला २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयरको टिकट पाएका उनी १४ हजार ३२४ मत ल्याएर विजयी बने । त्यो बेला उनलाई चुनौती दिएका स्वतन्त्र उम्मेदवार गोपी हमालले ११ हजार ५२७ मत पाएका थिए । 

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य (दलित खुला) निर्वाचित हुँदा वडले मानबहादुर नेपालीपछि सबभन्दा धेरै मत पाएका थिए ।

वड एक समयका फुटबल खेलाडी पनि हुुन् । यसबीचमा उनले खेलकुद विकास समिति, धनगढी नगर विकास समिति, बाल संगठन कैलाली र विभिन्न क्लबहरूको नेतृत्व पनि गरेका छन् । कैलालीमा उनले चुनौतीसँग धैर्यपूर्वक भिड्ने सरल नेताको छवि बनाएका छन् । 

चुनावी अनुकूलता र प्रतिकूलता

धनगढीको मेयरमा गठबन्धनका साझा उम्मेदवार बनेका वड चुनावी प्रचारप्रसारमा व्यस्त छन् । सरल, सहज र जुुनसुकै बेला सम्पर्कमा आउने उनले अघिल्लो निर्वाचनमा कांग्रेसको एक्लो बलमा विजय हासिल गरेका थिए । अहिले उनलाई नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को पनि साथ छ । यसलाई वडको मुख्य अनुुकूलता मानिएको छ ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा वडका लागि मत माग्न धनगढी आउनुले पार्टीभित्र पनि उनका लागि थप अनुकूलता सिर्जना गरेको छ ।

तर, मेयर पदमा वड परीक्षित पात्र हुन् । सोही पदमा दोहोरिंदा हुने अप्ठ्यारा उनले व्यहोर्नुपर्नेछ । पाँचवर्षे कार्यकालमा गर्ने भनेको अधिकांश काम हुन नसक्नु, नगरवासीमा नेतृत्व परिवर्तनको चाहना हुनु, कांग्रेसभित्रै पनि असन्तुष्टि देखिनु वडका लागि प्रतिकूलता हुन् ।

थप उम्मेदवारहरु

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि election@onlinekhabar.com