गोपाल हमाल

पुरुष, ५८ बर्ष
२६,८६५ मत विजयी
उम्मेदवारी : मेयर
धनगढी उपमहानगरपालिका, सुदूरपश्‍चिम प्रदेश

सुदूरपश्चिम नेपालका चर्चित व्यवसायी गोपाल हमाल धनगढी उपमहानगरपालिकाको मेयरमा दोस्रो पटक स्वतन्त्र उम्मेदवार बनेका छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा उनी नेपाली कांग्रेसका नृपबहादुर वडसँग झिनो मतान्तरले पराजित भएका थिए ।

बीचमा केही समय हिन्दु राष्ट्र पक्षधर रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजक बनेका हमालले त्यो जिम्मेवारी छाडेर दोस्रो पटक धनगढीको मेयरमा ‘स्वतन्त्र’ उम्मेदवारी दिएका हुन् ।

यो पटक उनले ‘भ्रष्ट राजनीतिलाई कल्याणकारी बनाउने’ नारामा मत मागिरहेका छन् ।

को हुन् गोपाल हमाल ?

सुदूरपश्चिममा गोपाल हमाल आफैंमा एउटा ‘ब्राण्ड नेम’ हो । उनी ‘गोपी दाइ’को रूपमा सुपरिचित छन् । २०६४ सालमा कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष बनेपछि चलाएको ‘सुन्दर सुदूूरपश्चिम’ अभियानको सफलताले उनलाई लोकप्रिय बनायो ।

महोत्सव आयोजना र सचित्र पुस्तक प्रकाशनबाट संसारलाई ‘सुदूरपश्चिम सुन्दर छ’ भन्ने सन्देश दिन उनी नेतृत्वको उद्योग वाणिज्य संघ सफल भयो ।

त्यसअघि सुदूरपश्चिमलाई अशिक्षा, गरिबी र देउकी, छाउपडी जस्ता कुप्रथा भएको क्षेत्रको रूपमा लिइन्थ्यो । सुदूरपश्चिमको त्यस्तो नकारात्मक छविलाई सुन्दरमा ब्रान्डिङ गरेर ‘गोपी दाइ’ लोकप्रिय भए । त्योसँगै उनमा राजनीतिक महत्वाकांक्षा पलायो ।

सामूहिक वा व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्री लगायत सरकारका उच्च अधिकारी र नेतालाई किलोको तौलमा माला लगाइदिने कुप्रथाको सुरुवात पनि सुदूरपश्चिमका यिनै ‘गोपी दाइ’बाट भयो ।

धनगढी विमानस्थलका लागि ‘एक पैसा अभियान’ पनि चलाएका हमालसँग विभिन्न सामाजिक संघ–संस्थामा आवद्ध भएर काम गरेको अनुुभव पनि छ ।

हमालका अनुकूलता र प्रतिकूलता

कडा स्वभावका स्पष्ट वक्ता गोपाल हमाल व्यक्तिगत ख्याति, अघिल्लो चुनावमा पराजय भएको सहानुुभूति र साझा विवेकशील पार्टीको अप्रत्यक्ष भरथेगमा धनगढीको मेयर बन्ने प्रयत्नमा देखिन्छन् ।

उपमहानगरपालिकामा दलीय नेतृत्व परिवर्तन गरेर नयाँ परीक्षण गर्ने नगरवासीको चाहना उनको लागि वरदान साबित हुनसक्छ । तर, अघिल्लो निर्वाचनमा दलहरू एक्लाएक्लै लड्दा पनि पराजित भएका हमालका लागि यसपटक सत्तारुढ गठबन्धन ठूलो चुनौती बन्ने देखिन्छ ।

प्रतिनिधि सभामाथि पटक–पटक असंवैधानिक प्रहार गरेर सत्ताच्युत हुन पुगेको देशको सबभन्दा ठूलो दल नेकपा (एमाले)ले पनि धनगढीमा बलियो उम्मेदवार उठाएको छ । दलहरूभित्रको विद्रोही र स्वतन्त्र मत तान्न सके ‘गोपी दाइ’ ले इतिहास रच्न पनि सक्छन् ।

थप उम्मेदवारहरु

नृपबहादुर वड

नृपबहादुर वड
पुरुष, ४९ बर्ष

धनगढी उपमहानगरपालिका, सुदूरपश्‍चिम प्रदेश
रणबहादुर चन्द

रणबहादुर चन्द
पुरुष, ४३ बर्ष

धनगढी उपमहानगरपालिका, सुदूरपश्‍चिम प्रदेश

कविन्द्र ऐर
पुरुष, ३६ बर्ष

धनगढी उपमहानगरपालिका, सुदूरपश्‍चिम प्रदेश
द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि election@onlinekhabar.com