मुकुन्द श्याम गिरी

पुरुष, ६१ बर्ष
१०,००६ मत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरीले वीरेन्द्रनगर नगरपालिकाको नेतृत्वका लागि १८ वर्षपछि पुनः उम्मेदवारी दिएका छन् । २०६१ माघमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछि उनी वीरेन्द्रनगरको मेयरमा मनोनीत भएका थिए ।

वीरेन्द्रनगरका पूर्व मेयर गिरी नगरवासीका लागि आफू जति विकासप्रेमी पात्र अर्को नभएको दाबी गर्छन् । १८ वर्ष पहिले आफूले बसालेको जगमा वीरेन्द्रनगर उभिएको र जनअपेक्षा अनुसार कुनै पनि नेताहरूले काम गर्न नसकेको उनको ठहर छ । राजा वीरेन्द्रले प्लानिङ गरेर व्यवस्थित बनाइदिएको वीरेन्द्रनगरलाई अन्य दलका नेता–कार्यकर्ताले क्षत–विच्छेद पारेको गिरीको आरोप छ ।

मेयरमा गिरीले उम्मेदवारी दिएसँगै वीरेन्द्रनगरमा दक्षिणपन्थी राजनीति तरंगित छ । आफ्नो खुम्चिंदो राजनीतिमा सक्रियता बढाएका वीरेन्द्रनगरका राजावादीहरूले यसपटक ठूलो मत काट्ने आकलन गरिएको छ ।

झण्डै दुईदशकपछि मेयरको त्यही कुर्सीमा उक्लिन चुनावी मैदानमा उत्रिएका गिरी वीरेन्द्रनगरका पाका र अनुभवी खेलाडी हुन् । सानै उम्मेरदेखि विद्यार्थी राजनीतिमा जोडिएका उनी २०३२ सालमा पञ्चायत आस्थावान विद्यार्थी संगठन राष्ट्रवादी स्वतन्त्र विद्यार्थी संगठनको केन्द्रीय सदस्य हुँदै २०३४ मा केन्द्रीय उपाध्यक्ष भए ।

२०४२ सालमा जिल्ला बाल संगठन सुर्खेतको अध्यक्ष, २०४३ सालमा तत्कालीन लाटीकोइली गाविसको प्रधानपञ्च रहेका उनी ३६ वर्षयता निरन्तर वीरेन्द्रनगरको नेतृत्व लिने खेलमा छन् ।

२१ फागुन २०१७ मा दुल्लु नगरपालिका दैलेखको खेतगाउँमा जन्मिएका गिरी २०२३ सालमा परिवारसँगै वीरेन्द्रनगर झरेका थिए । नगरमा इँटाको घर बनाउने पहिलो व्यक्ति थिए, उनका बुवा प्रयागदेव गिरी ।

गिरी सन् १९८४ को वीरेन्द्रनगर जेसिजका अध्यक्ष समेत हुन् । त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागेका उनी १० वर्ष पार्टीको जिल्ला सचिव भए । पार्टीको केन्द्रीय सदस्य, कार्यसम्पादन समिति सदस्य हुँदै हाल केन्द्रीय उपाध्यक्ष छन् ।

उनका बुवा सामाजिक अगुवा थिए । दाइ घनश्याम गिरी २०४२ सालमा राष्ट्रिय पञ्चायतको सदस्य थिए । दाइ नै उनको राजनीतिक क्षेत्रका प्रेरणा हुन् ।२०३२ सालमा नेपाली कांग्रेसका पार्टी उपसभापति पूर्णबहादुर खड्का र गिरी एउटै विद्यार्थी संगठनमा थिए ।

खड्का राष्ट्रवादी स्वतन्त्र विद्यार्थी संगठनको उपाध्यक्ष हुँदा गिरी सदस्य थिए । ‘पछि उहाँ पढ्न काठमाडौं गएपछि नेविसंघतिर लाग्नुभयो । म निरन्तर त्यही संगठनमा रहें’ गिरीले भने ।

मेयरमा निर्वाचित भए उनको पहिलो प्राथमिकता सुर्खेत–काठमाडौं हवाई उडान हो । हाइवेलाई अन्डरपासबाट निकालेर विमानस्थल विस्तार गर्ने र जनतालाई सस्तोमा उडाउने उनको योजना छ । गर्मी याममा चार दिनमा एकपटक आउने वीरेन्द्रनगरको खानेपानी समस्या समाधान गर्ने उनको अर्को प्राथमिकताको विषय हो ।
स्नातकसम्मको अध्ययन गरेका गिरी जनताको सेवा नै जीवनको लक्ष्य भएको बताउँछन् । ‘कुनै पदमा पुगौंला या नपुगांैला, तर सामाजिक सेवामा रमाउँछु । जनसेवा नै जीवनको लक्ष्य हो’, गिरी भन्छन् ।

२०३५ सालमा रेडियो नेपालबाट भ्वाइस टेष्ट गराएका गिरी राजनीतिबाट रिटायर भए साहित्य र संगीत क्षेत्रमा रहने बताउँछन् । साहित्य र संगीत मन पराउने उनका लागि लेखन अर्को रुचिको विषय हो । उनी पुस्तक लेख्ने तयारीमा पनि छन् ।

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]