उपेन्द्रबहादुर खड्का

पुरुष, ४२ बर्ष
१५,४८४ मत
उम्मेदवारी : मेयर

 सत्ता गठबन्धनबाट वीरेन्द्रनगर नगरपालिकाको प्रमुखका साझा उम्मेदवार हुन् उपेन्द्र खड्का । कांग्रेस पार्टी उपसभापति पूर्णबहादुर खड्काको विश्वासपात्र भएकै कारण उपेन्द्रले टिकट पाएको धेरैको दाबी छ । तर पार्टी र समाजमा गरेको योगदानका आधारमा आफूले टिकट पाएको उनी बताउँछन् ।

वीरेन्द्रनगरको मेयरको टिकटका लागि कांग्रेसबाट ९ जना नेताहरू आकांक्षी थिए । अन्ततः कांग्रेस नगर सभापति उपेन्द्र खड्काले टिकट पाए । कांग्रेसले आफ्नो पकेट क्षेत्र दाबी गर्दै आएको वीरेन्द्रनगरमा पार्टीको विरासत जोगाउनुपर्ने चुनौती खड्कालाई छ । २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसकै देवकुमार सुवेदीले मेयरमा जितेका थिए ।

स्थानीय तह निर्वाचनमा सुरुमा एक्लै उम्मेदवारी दिएको कांग्रेसले पार्टीभित्रै अन्तर्घात हुने देखेपछि अन्तिम समयमा माओवादी केन्द्रसँग गठबन्धन गरेको छ । २३ मंसिर २०३६ सालमा वीरेन्द्रनगर–६, मा जन्मिएका खड्का विगत २३ वर्षदेखि राजनीतिमा सक्रिय छन् ।

उनको राजनीति त्रिचन्द्र कलेजमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को सदस्यताबाट सुरु भएको थियो । त्रिचन्द्र कलेजमा गगन थापा, किशोर सिंह राठौर लगायत नेताहरू त्यहाँ स्ववियु सभापति, सचिव हुँदा उनी सदस्य थिए ।

नेविसंघको विभिन्न पदमा रहेर काम गरेका खड्का त्यसयता सुर्खेतमा झरे र वीरेन्द्रनगरलाई कार्यथलो बनाएका उनले कांग्रेस नगर सचिवहुँदै १४औं महाधिवेशनबाट नगर सभापतिको जिम्मेवारीमा छन् ।

यसपटक सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार खड्काले घरदैलो कार्यक्रममा जोड दिएका छन् । सरल, इमानदारको छवि बनाएका खड्काले ग्रामीण विकासमा स्नातकोत्तर र वातावरण विज्ञानमा स्नातकसम्मको अध्ययन गरेका छन् ।

उपेन्द्रका बाजे जयबहादुर खड्का वकिल थिए । बाजेकै छत्रछायाँमा हुर्किएका खड्का सानैदेखि सामाजिक कार्यमा सरिक हुन्थे । ठूलो बुवा इन्द्रबहादुर खड्का सांसद थिए । उनकै पृष्ठभूमिले उपेन्द्रलाई राजनीतिमा लाग्न उत्प्रेरित गर्‍यो ।

विद्यालयदेखि प्राविधिक शिक्षालय, क्याम्पस, कन्सल्टेन्सी हुँदै आईएमईसम्मको व्यवसाय छ, उनको । एक सय बढी युवालाई रोजगारी दिइरहेको खड्काको दाबी छ ।

‘आफ्नो व्यवसाय भएपछि खाने, लगाउने र छोराछोरी पढाउने समस्या हुँदैन, व्यवसाय नभए त्यो खर्च कहाँबाट ल्याउने ?’ उनी भन्छन्, ‘राजनीति गर्ने व्यक्ति पहिला आर्थिक रूपमा सक्षम हुनुपर्छ । आयआर्जनको लागि व्यवसाय गर्नु जरूरी छ ।’ नेपालमा राजनीतिलाई पेशा ठानेकै कारण भ्रष्टाचार मौलाएको उनको ठहर छ ।

गत निर्वाचनमा नेपाली कांग्रेसका देवकुमार सुवेदीले १४ हजार ४०५ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका बालाराम शर्माले १३ हजार ८९९ मतसहित निकटतम प्रतिद्वन्द्वी बनेका थिए । उनीहरूबीच ५०६ मतको मतान्तर रहेको थियो ।

एमालेमा भएको विभाजन र गठबन्धनको शक्ति लिएर जितको विरासतलाई जोगाउने दाउ खड्काको छ भने गठबन्धनभित्रको किचलो र कांग्रेसको अघिल्लो कार्यकालका कमजोरी देखाएर जित निकाल्ने एमालेको रणनीति रहेको छ ।

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]