नन्द लाल वैश्‍य

पुरुष, ५१ बर्ष
७,५९८ मत

नन्दलाल वैश्य, राप्रपा

पश्चिम नेपालमा कपडा व्यापारीको रुपमा स्थापित नन्दलाल वैश्य आफ्नो नयाँ परिचय स्थापित गर्न नेपालगञ्जको मेयर प्रत्यासी बनेका छन् । २०२८ सालमा नेपालगञ्जमा जन्मिएका उनको तीन पुस्ता नै नेपालगञ्जमा कपडाको व्यापार गर्दै आएको छ ।

५० वर्षीया वैश्यले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् । नम्र स्वभाव, सबैलाई सदैव आदर, सम्मान प्रकट गर्ने स्वभावका कारण पनि उनी कतिपय मतदाताको प्रिय पात्र बन्दै आएका छन् ।  किशोर अवस्थादेखि व्यवसायिक यात्रा थालेका वैश्य लामो समयदेखि सामािजक काममा पनि सक्रिय रहँदै आएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघमा २०५१ सालदेखि साधारण सदस्य, उपसमिति संयोजक, निर्वाचित कार्यसमिति सदस्य हुँदै अत्यधिक मत प्राप्त गर्ने उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरेका छन् ।

बैश्य समाजको दुई पटक उपाध्यक्ष निर्वाचित भइसकेका उनी २०६३ मा नेपालगञ्ज उद्योग व्यापार संघको कार्यकारिणी सदस्यमा अत्याधिक मतले विजयी बने । ०६६ मा उद्योग वाणिज्य महासंघको उपाध्यक्ष निर्वाचित उनी अर्को कार्यकालका लागि अध्यक्षका प्रत्यासी बने । तर, उनी केवल चार मतान्तरले पराजित हुन पुगे । पराजयलाई विजयमा बदल्न उनी २०७० समा नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएरै छाडे ।

वैश्य समाजको हाल अध्यक्षको भूमिका निर्वाह गरिरहेका उनी नेपालगञ्जमै ठूलो समिति मानिएको हडिया बाबा समितिको अध्यक्ष पनि छन् । यसैगरी नेपालगञ्जमा बनाइएको सामाजिक सद्भाव समितिको समेत अध्यक्षका रुपमा वैश्यले नेतृत्व गरिरहेका छन् । वैश्य प्रदेश पाँच उद्योग वाणिज्य संघको संयोजक पनि छन् ।

माओवादी पार्टीबाट नेपालगञ्जको मेयर पदका लागि टिकट नपाएपछि हालै पार्टी छाडेर राप्रपाबाट मेयरमा अघि सरेका छन् । सामाजिक सद्भाव विकास गर्न जात, वर्ग, धर्म, क्षेत्र, लिङ्ग नभनी सबैलाई समान व्यवहार गर्ने व्यक्तित्वको रुपमा परिचित वैश्यलाई जिल्ला भित्रमात्र नभएर अन्य क्षेत्रका व्यक्तिहरुले समेत उत्तिकै सम्मान गर्ने गरेका छन् ।

यही सामाजिक सम्बन्ध र सद्भावलाई मतमा परिणत गर्न उनले आफूलाई चुनावी मैदानमा उतारेका छन् ।

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]