इश्‍वरी कुमारी शर्मा (वि.एम.)

महिला, ४७ बर्ष
७,००२ मत विजयी
उम्मेदवारी : उप मेयर
चौरजहारी नगरपालिका, कर्णाली प्रदेश

उनी स्कुल पढ्दैदेखि विद्रोही स्वभावकी थिइन् । घर नजिकको बगैंचामा संयुक्त जनमोर्चाले आयोजना गरेको आमसभामा स्थानीय कांग्रेसजनको थिचोमिचो विरुद्ध भाषण ठोकिन् । गाउँभरि चर्चा भयो– फलानाकी छोरीले आमसभामा कांग्रेसविरुद्ध बोली ! धेरैले उनलाई डर देखाए । कांग्रेस नेता–कार्यकर्ताहरुले धम्कीको शैलीमा ‘पख्’ भन्दै औंला ठड्याए । तर कांग्रेस बाहुल्य गाउँमा कम्युनिष्ट पार्टी विस्तारको प्रयास गर्दै गरेका कृष्ण सेन इच्छुकसहितका केही नेताहरुले दमन र थिचोमिचोविरुद्ध बोल्नुपर्ने भन्दै हिम्मत दिए ।

त्यही हिम्मत र आफूले रोजेको बाटो सही छ भन्ने आत्मविश्वासको आधारले नै उनलाई अहिले इमान्दार छबीको माओवादी कार्यकर्ताको परिचय दिएको छ । र उनीप्रति भरोसा गरेर नै यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको उपमेयर पदको उम्मेदवार बनाएको छ । उनी अर्थात् ईश्वरी शर्मा (बीएम) ।

स्नातकोत्तर उत्तीर्ण शर्मा उपमेयर पदमा र पुष्प वादी मेयर पदमा चौरजहारी नगरपालिकामा माओवादी केन्द्रबाट उम्मेदवार छन् ।

अन्तरजातीय बिहे र संघर्ष

ईश्वरीको जन्म दाङ देउखुरीको गढवा गाउँपालिका २ महदेवा (साविकको गोबरडिहा गाविस वडा नं. ६ महदेवा) मा २०३१ सालमा भएको थियो । बुवा चेतनाथ शर्मा प्राविको स्थायी शिक्षक थिए । गाउँमा कांग्रेसहरुको दबदबा थियो । उनीहरु कांग्रेस निकट शिक्षक संघको सदस्यता लिन दबाव दिन्थे । सदस्यता नलिएको रिसमा स्कुलमा हाजिर नै गर्न नदिने, प्रत्येक महिना दुर्गम स्कुल छानी–छानी सरुवा गरिदिने, घरसम्म जाने बाटो नदिने जस्ता काम गरेर दुःख दिन्थे । बुवा र आफ्नो परिवारप्रति कांग्रेसको हेपाइ अति भएपछि नै ईश्वरीले महदेवा स्कुल छेउको आँपको बगैंचामा जनमोर्चाले आयोजना गरेको आमसभामा भाषण ठोकेकी थिइन् । स्कुल पढ्दै गरेकी उनले कांग्रेसहरुको हेपाइका घटनाको बेलिबिस्तार मात्र लगाइनन् कम्युनिष्ट झण्डा मुनि गोलबन्द हुन सबैलाई अपिल गरिन् ।

त्यसपछि उनको राजनीतिक सक्रियता बढ्न थाल्यो । उनी २०४८ सालमा स्कुल इकाइ कमिटीको अध्यक्ष बन्दै विद्यार्थी संगठनमा जोडिइन् । भेला प्रशिक्षण र संगठन बिस्तारमा नेताहरुले लाएअह्राएको काम गरिन् । सरस्वती मावि गोबरडिहाबाट एसएलसी उत्तीर्ण गरेर दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा आईए पढ्न गइन् । २०५१ सालमा सोही क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको तर्फबाट सदस्य पदमा चुनाव लडिन् । तर कांग्रेसकै उम्मेदवारसँग हारिन् ।

घोराहीमा पढ्दापढ्दै उनको चिनजान रुकुम खोलागाउँका वीरेन्द्र विएम (बुढामगर)सँग भयो । वीरेन्द्र पनि अखिल क्रान्तिकारी र पाउ पार्टी माओवादीको एक सक्रिय कार्यकर्ता थिए । पार्टीका नेताहरुले वीरेन्द्र र ईश्वरीको बिहेको प्रस्ताव राखे । एकअर्कालाई स्वीकार्न उनीहरु राजी थिए । तर अभिभावकको अनुमति लिन बाँकी थियो । ईश्वरी आफैंले आफ्नो बिहेको कुरा बुवा–आमा समक्ष राखिन् । उपाध्याय बाहुनकी छोरी दुर्गम रुकुमको मगर केटासँग बिहेको प्रस्ताव आएपछि घरमा खैलाबैला भयो । ‘आफन्तले त बिहे नगर्न दबाव दिएका थिए तर मेरो बुवाले त्यो बिहेको प्रस्ताव स्वीकार्नुभयो । जेठी छोरीको खुसीमा म पनि खुसी हुन्छु भन्नुभयो र २०५२ साल जेठ १९ हाम्रो जनवादी बिहे भयो,’ ईश्वरीले विगत सम्झिइन्, ‘दाङ देउखुरीको धैरेनीमा पिपलको चौतारो मुनि जिल्लास्तरका माओवादी नेताहरुले भाषण गरेर, कलाकारहरुले प्रगतिशील गीत गाएर, गाउँलेहरुलाई चकलेट बाँडेर सम्पन्न भएको त्यो बिहे नितान्त नौलो थियो ।’

घरका तीन सदस्य शहीद भए, छोरी अपांग

रुकुममा जनयुद्धको पूर्वतयारी भइरहेको थियो । सँगै तत्कालीन सरकारले ‘किलो शेरा टु’ अभियानमार्फत् दमन जारी राखेको थियो । वीरेन्द्र पनि माओवादी आन्दोलनमा सक्रिय थिए । प्रहरी दमन बढेपछि घर बस्ने वातावरण भएन । अर्धभूमिगत रुपमा दाङ क्याम्पस पढ्न आउने र रुकुम घर जाने प्रक्रिया केही महिनासम्म चल्यो । तर जब माओवादीले २०५२ साल फागुन १ गते जनयुद्ध सुरु भएको घोषणा गर्यो तब ईश्वरीका श्रीमान वीरेन्द्र पूर्णकालीन भए । ईश्वरी पनि भूमिगत भइन् । जनयुद्धमा लाग्दालाग्दै २०५४ सालमा माओवादीको पार्टी सदस्यता प्राप्त गरिन् ।

त्यस्तै २०५६ सालमा पूर्णकालीन सदस्य, २०५८ सालमा नेकपा माओवादी एरिया समिति सदस्य, २०६१ सालमा जनमुक्ति सेना हेडक्वाटरको प्रकाशन विभाग सदस्य लगायतका जिम्मेवारीमा रहेर काम गरिन् । जुम्ला सदरमुकाम, म्याग्दी सदरमुकाम, दाङको सतबरिया बेस क्याम्प लगायतका फौजी कारबाहीमा सहभागी भइन् । शान्ति प्रक्रियापछि पनि उनी जनमुक्ति सेनाको हेडक्वाटरमा रहेर काम गरिन् । २०६४ सालमा रुकुमको चौरजहारी नगर समिति सचिवालय सदस्य तथा चौरजहारी नगरपालिका १० नम्बर वडा इञ्चार्जको जिम्मेवारी पनि उनले निर्वाह गरिन् ।

जनयुद्धकालमै घरका तीन सदस्य गुमेका छन् । ससुरा र आमाजूलाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गर्यो । नन्द भने सेनाले गरेको हवाई कारबाहीमा मारिइन् । गर्भमा पहिलो सन्तान हुर्कीरहेको बेला श्रीमान् पक्राउ परेको, श्रीमानले हिरासत भित्रैबाटै मर्ने बाँच्ने ठेगान नभएकाले सम्हालिंदै जनयुद्धमा निरन्तर सक्रिय रहन आग्रह गर्दै चिठ्ठी पठाएको, प्रशासनको आँखा छल्दै प्रसूतिका लागि नेपालगञ्ज अस्पतालसम्म पुग्नु परेको, दूधे छोरीलाई माइतमै छाडेर पुनः जनयुद्धमा होमिनु परेको, सेनाको बमबारीमा पर्दा त्यही छोरीको बोली गुमेको, माओवादीमै लागेकाले बुवा र भाइलाई समेत प्रहरीले नियन्त्रणमा लिएर यातना दिएको, श्रीमान वीरेन्द्रलाई पार्टीले अध्यक्ष प्रचण्डको सुरक्षा टोली प्रमुखको जिम्मेवारी सुम्पिएको लगायतका संघर्षका तीतामिठा अनगिन्ती अनुभव उनीसँग छन् ।

फेरि पनि परीक्षा

जनयुद्धकाल अगाडि र पछाडि पनि जिन्दगीले लिएको परीक्षामा उत्तीर्ण हुँदै आएकी ईश्वरी अहिले स्थानीय तह निर्वाचनरुपी परीक्षामा होमिएकी छन् । कांग्रेस र नेकपा एमालेको गठबन्धन चिर्दै चौरजहारी नगरपालिकामा आफू र आफ्नो पार्टी माओवादी केन्द्रलाई फेरि पनि विजयी बनाउनुपर्ने चुनौती उनीसमक्ष छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका नेता विशाल शर्मा मेयर र राधा रोका उपमेयरसहितको टोली निर्वाचित भएको थियो । मेयरमा निर्वाचित शर्माले ५,४२० मत पाएका थिए । कांग्रेसका मेयर उम्मेदवार बलबहादुर गोसाईले ३,२०४ र एमाले उम्मेदवार शेरबहादुर केसीले २,२८२ मत पाएका थिए । अघिल्लो चुनावलाई हेर्दा माओवादी र कांग्रेस–एमाले उम्मेदवारबीच कडा टक्कर हुने देखिन्छ ।

तर पनि अघिल्लो निर्वाचनमा जस्तै यसपटक पनि जित माओवादीकै हुने शर्मा बताउँछिन् । ‘हामीले गरेका कामका आधारमा चौरजहारीका जनताले फेरि पनि हामीलाई नै साथ दिनुहुन्छ र सेवामा समर्पित हुने अवसर दिनुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु,’ उनले भनिन् ।

अघिल्लो नेतृत्वले पाँच वर्षको अवधिमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा गरेको उल्लेखनीय काम गरेको बताउँदै उनले भनिन्, ‘अहिले पनि जनप्रिय कामलाई निरन्तरता दिने र अधुरा कामलाई पूरा गर्न प्रतिबद्ध छौं ।’

थप उम्मेदवारहरु

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि election@onlinekhabar.com